RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/१८ गते
६९९ पटक

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको महासंग्राममा भोलि शुक्रबारबाट होमिंदैछ । कांग्रेसको विधान अनुसार तल्लो तहको अधिवेशन अन्तर्गत भोलिबाट देशभरका ६ हजार ७ सय ४३ वडामा नेतृत्व छान्न अधिवेशन शुरु हुँदैछ ।

तर सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्ला अनुसार नै फरक फरक हुने भएको छ । अर्थात भोलीबाट २३ गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चुन्ने छ ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ । सोही अनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट शुरु हुने भएको हो । यसअघि केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिका अनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ ।

तर केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि तलमाथि हुने भएको हो । अधिवेशन तोकिन बाँकी जिल्लामा हुने वडाको निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने गरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलिबाट अधिवेशन प्रक्रिया शुरु हुने र २३ गते भित्र सबै वडामा अधिवेशनले नयाँ नेतृत्व छानिसक्ने जानकारी दिए । यस्तै २७ गतेबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको उनले जानकारी दिए ।

‘१८ गतेबाट शुरु गरेर २३ गतेसम्मममा वडा अधिवेशन सक्न र २७ गतेबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ, सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा शुक्रबारबाटै धमाधम अधिवेशन हुन्छ,’ पौडेलले भने ।

कांग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली भने अझै सार्वजनिक गरेको छैन । ति जिल्लाका सदस्यता पनि भोलीसम्ममा सार्वजनिक गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १८ भदौ अघि नै बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावली पनि सार्वजनिक गरिने जानकारी दिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम मंगलबार सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको थियो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए । यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँरनगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेखछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्