RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/५/३० गते
५६८ पटक

सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि  ० हजार रुपैयाँले बढ्नेछ ।

नेपालमा १५०–१५५ सिसीका मोटरसाइकल सबैभन्दा बढी बिक्री हुन्छन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा १०० सिसीदेखि २५० सिसीसम्मका दुई लाख १३ हजार एक सय ४४ मोटरसाइकल आयात भएकोमा १२६–१५५ सिसीका मोटरसाइकल ८५ हजार आयात भएका थिए । यो ४० प्रतिशत हिस्सा हो । यसअघि यो सेग्मेन्टमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई १० प्रतिशतले बढाएर ५० प्रतिशत पुर्‍याइएको छ ।

त्यस्तै, सडक दस्तुर यसअघि १५ हजार रुपैयाँ लाग्दै आएकोमा त्यसलाई १८ हजार रुपैयाँ बनाइएको छ । त्यस्तै, १०० सिसीदेखि १२५ सिसीसम्मका ६० हजार आठ सय ८७ मोटरसाइकल आयात भएका छन्, जुन २९ प्रतिशत हुन आउँछ । १५६ सिसीदेखि २५० सिसीसम्मका मोटरसाइकल ६७ हजार दुई सय ४० थान आयात भएको देखिन्छ, जुन ३२ प्रतिशत हुन आउँछ । यो सेग्मेन्टमा पनि २०० देखि २५० सिसीसम्मका बाइकमा यसअघि ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई ६० प्रतिशत पुर्‍याइएको छ । यसरी नेपालमा खपत हुने दुईतिहाइभन्दा बढी मोटरसाइकलको भाउ बढाउने निर्णय सरकारले गरेको छ ।

अघिल्ला वर्षहरूमा आयात भएका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीको बाहुल्यता बढी देखिन्छ । आव ०७५/७६ मा १०० सिसीदेखि २५० सिसीसम्म आयात भएका एक लाख ७८ हजार पाँच सय ७३ मोटरसाइकलमध्ये १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकल ७७ हजार नौ सय २७ थान थिए, जुन ४४ प्रतिशत हिस्सा हुन आउँछ । १०० सिसीदेखि १२५ सिसीसम्मका ५८ हजार नौ सय ६५ थान र १५६ सिसीदेखि २५० सिसीसम्मका ४१ हजार ६ सय ८१ थान आयात भएका थिए । आव ०७६/७७ मा आयात भएका १०० सिसीदेखि २५५ सिसीसम्मका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकलको हिस्सा बढी देखिन्छ ।

नयाँ पत्रिका दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्