RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/२ गते
६१३ पटक

नेपालमा कोभिड– १९ विरुद्धको खोप अभियान तीव्र छ । चीनको भेरोसेल, भारतको कोभिसिल्ड, अमेरिकाको जोन्सन एन्ड जोन्सन र जापानको एस्ट्राजेनेका खोप नेपालमा प्रयोग भइरहेको छ । तर, थरीथरीका खोप लगाउँदा नेपालीलाई पनि विदेश भ्रमणमा समस्या भएको छ ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका सबै खोपलाई सबै मुलुकले मान्यता नदिँदा विदेश भ्रमणमा समस्या हुने देखिएको हो । भारतको कोभिसिल्ड र अमेरिकी जोन्सन एन्ड जोन्सनलाई चीनले मान्यता दिएको छैन । अमेरिका, बेलायतसहित युरोपियन युनियनसम्बद्ध मुलुकले चिनियाँ खोप सिनोभ्याक्स र भेरोसेललाई मान्यता दिएका छैनन् । चीन सरकारले गत चैतमा जारी गरेको सूचनाअनुसार चीन प्रवेशका लागि भेरोसेल वा चिनियाँ खोप लगाएको हुनुपर्ने प्रावधान छ । नेपालमा भेरोसेल खोप सबैभन्दा धेरै आएको छ । तर, यो खोप लगाएकाहरूलाई युरोप र अमेरिका जान अप्ठ्यारो पर्ने देखिएको छ ।

सामान्यतया कोभिसिल्ड भ्याक्सिन बेलायतमा उत्पादन भएको र अमेरिकाले पनि मान्यता दिइसकेका कारण सबैतिर प्रयोगमा आइरहेको छ । तर, बेलायत र अमेरिकाजस्ता शक्तिराष्ट्रहरूले भेरोसेल खोपलाई मान्यता नदिएका कारण चीनले समेत कोभिसिल्डलाई मान्यता नदिएको हुन सक्ने वरिष्ठ भाइरोलोजिस्ट डा. जनक कोइराला बताउँछन् ।

‘खोपबारे प्रत्येक देशहरूले आफ्नै मापदण्ड बनाएका छन् । आफूले उत्पादन गरेको खोपलाई अघि बढाउन अनि अन्तर्राष्ट्रिय शक्तिसमीकरण इत्यादिका कारण यस्तो हुन सक्छ,’ कोइरालाको भनाइ छ, ‘तर, अनुदान र सहयोगको भरमा सीमित खोप ल्याएर प्रयोग गरिरहेको नेपालजस्तो देशका लागि यस्ता प्रावधानले समस्या आएको छ । विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेका खोपलाई विश्वभरि मान्यता दिनुपर्छ । यसका लागि सम्बन्धित देशहरूसँग कुराकानी गर्नुपर्छ ।’

हालसम्म भएका क्लिनिकल अध्ययनअनुसार कोभिडविरुद्ध खोपको प्रभावकारिता ६ देखि ९ महिनासम्म रहन्छ । खोपको प्रभाव बढाउन सम्बन्धित खोपको बुस्टर डोजबारे विभिन्न अनुसन्धान भइरहेका छन् । तर, उपलब्ध भ्याक्सिन सबै देशमा मान्यता प्राप्त नहुनु र छोटो समयमा एकभन्दा बढी भ्याक्सिन प्रयोग गर्न नमिल्ने हुँदा समस्या भइरहेको चिकित्सकहरू बताउँछन् । डा. कोइराला भन्छन्, ‘क्लिनिकल रूपमा एउटै समयमा एकभन्दा बढी कम्पनीले उत्पादन गरेको खोप लगाउन मिल्दैन ।’

क्यानडाले फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनेका खोपलाई मात्रै मान्यता दिएको छ । त्यहाँ चिनियाँ निर्मित खोपलाई मान्यता छैन । युरोपियन मेडिसिन एजेन्सीले अनुमति दिएका खोपहरूमा मोडर्ना, फाइजर, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन छन् । एजेन्सीले चिनियाँ र रुसमा उत्पादित खोपलाई मान्यता दिएको छैन । रुसमा निर्मित स्पुतनिक भी खोपलाई विश्व स्वास्थ्य संगठनले नै मान्यता दिन बाँकी छ ।

नयाँ पत्रिका दैनिकबाट……………….

प्रतिकृया दिनुहोस्