RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/६ गते
६९७ पटक

सुर्खेत — २०४५ सालमा राजा वीरेन्द्र सुर्खेत आउने भएपछि नेपाल विद्युत् प्राधिकरणले हतारहतार केन्द्रीय प्रसारण लाइन विस्तार गर्‍यो । त्यस बेला जडित ३३ केभी प्रसारण लाइनले नै अहिलेसम्म कर्णालीमा विद्युत्को माग पूरा गरिरहेको छ । विद्युत् खपतको तुलनामा विद्युत् क्षमता नथपिँदा कर्णालीवासीले लामो समयदेखि लोडसेडिङको मार भोगिरहेका छन् ।

‘एक दिनमा कम्तीमा ५० पल्ट बत्ती जान्छ होला,’ वीरेन्द्रनगरका कमल केसीले भने । अहिले ३३ केभी क्षमताबाटै मुगु, हुम्ला र डोल्पाबाहेकका कर्णालीका ७ जिल्लामा केन्द्रीय प्रसारणलाइन विस्तार गरिएको छ । सुर्खेतसहित दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, रुकुम र सल्यानमा विद्युत् प्राधिकरणका झन्डै १ लाख ग्राहक छन् । डोल्पासम्म केन्द्रीय लाइन विस्तार गर्ने भन्दै केही दिनअघि जाजरकोटको नलगाडसम्म विद्युत् विस्तार गरेको छ ।

विद्युत् प्रसारण लाइन जडानका बेला कोहपुरदेखि चिसापानी, बबई, हर्रे, छिन्चु हुँदै सुर्खेतसम्म ८६ किमिमा विद्युत् प्रसारणलाइन ल्याइएको थियो । त्यति बेला चिसापानी र छिन्चुबाहेक अन्यत्र कतै बस्ती नभएको वीरेन्द्रनगरका ५५ वर्षीय रामबहादुर केसीले बताए । ‘जनसंख्या र विद्युत् खपत हुने विभिन्न उपकरण बढे । तर पुराना उपकरणको मर्मतसमेत भएन,’ उनले भने, ‘३३ वर्ष पुरानो प्रसारण लाइन हावाहुरी आउनासाथ अवरुद्ध हुन्छ ।’ हाई भोल्टेज र कम भोल्टेजका कारण मेसिनरी उपकरण जल्ने जोखिम उत्तिकै रहेको उनको भनाइ छ ।

विद्युत्कै कारण उपचारसमेत प्रभावित बनेको प्रदेश अस्पतालका डा. नवराज केसीले बताए । ‘फुल पावरमा काम गर्ने मेसिनहरू भोल्टेज अभावका कारण चलाउन नसकिने अवस्था छ,’ उनले भने, ‘कुनै बेला त बत्ती आएकै बेला जेनेरेटर चलाउनुपर्छ ।’ बर्दिया राष्ट्रिय निकुञ्जभित्र बत्तीका पोल भएकाले जतिखेर बिग्रियो उति बेला बनाउन समस्या हुने गरेको विद्युत् प्राधिकरण सुर्खेतका लेखा अधिकृत मनोसकुमार सुवेदीको भनाइ छ । ‘बत्ती धेरै रातिमा बिग्रिन्छ,’ उनले भने, ‘जंगली जनावरको डरले रातिमा आर्मीले प्रवेशमा रोक लगाउँछ ।’ कोहलपुरदेखि सुर्खेतसम्म झन्डै ८६ किलोमिटरको दूरीमा ९५ प्रतिशत भाग जंगल क्षेत्र छ । चिसापानी, बबै र हर्रेको जंगलमा बिजुलीका पोल ढल्दा पनि मर्मतमा समय लाग्ने गरेको उनको भनाइ छ । भोल्टेज र लाइनको दूरीले भएको असर ग्राहकले खेप्नुपरेको विद्युत् प्राधिकरणका प्रदेश प्रमुख सुरेन्द्र अग्रहरिले बताए । उनका अनुसार मापदण्डअनुसार ३३ केभीको लाइनमा बढीमा ६० किमिसम्म मात्रै ग्राहक प्रसारणलाइन जोड्न मिल्छ । ‘कुनै ठाउँमा ३ सय किलोमिटरसम्म बिना सबस्टेसन लाइन विस्तार गरिएको छ,’ उनले भने ।

बस्ती र जंगलले समस्या

नयाँ प्रसारण लाइन जोड्दा घनाबस्ती र घना जंगल क्षेत्रमा ठूलो असर पर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले गरेको स्थलगत सर्वेक्षणअनुसार प्रसारण लाइन मार्गमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ । जसका कारण पनि लाइन विस्तारमा समस्या भएको हो ।

प्रसारण लाइन विस्तारका लागि प्राधिकरणले विस्तृत वातावरणीय प्रभाव मूल्यांकनसमेत गरेको छ । तर कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तार गर्दा निकुञ्ज क्षेत्रका १३ हजार रूख कटान गर्नुपर्ने बाध्यता छ ।

तर अनुमति पाउन नसकेपछि विस्तारको काम रोकिएको हो । प्राधिकरणले लाइन विस्तारका लागि गत असार २२ गते भारतीय निर्माण कम्पनी आरएस इन्फाप्रोजेक्ट प्रालिसँग सम्झौता गरेको छ । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ७० करोड रुपैयाँमा कम्पनीसँग सम्झौता गरिएको प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रूख कटानलगायत काम हुने प्राधिकरणको प्रसारण आयोजनाका प्रमुख रविकुमार चौधरी छन् । उनले २०४५ सालमै १३२ केभीए प्रसारण लाइन सुर्खेतसम्म ल्याउने कसरत थालिएको भए पनि विभिन्न कारणले रोकिएको जानकारी दिए ।

‘आयोजना सम्पन्न भए कर्णालीमा विद्युत् आपूर्ति सहज हुनेछ,’ उनले भने, ‘आयोजनाले लो भोल्टेजको समस्या पनि समाधान गर्नेछ ।’ प्राधिकरणका अनुसार आयोजनाअन्तर्गत कोहलपुरदेखि सुर्खेतसम्म १ सय ४५ वटा पोल रहनेछन् । जसमा २६ वटा एंगल टावरको प्रस्ताव गरिएको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्