
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने भएको छ। संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि देउवाले बिहीबार बिहान १० बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएका थिए।
‘हामी जाँदैनौं पहिलेदेखि नै हाम्रो प्रष्ट अडान थियो’ तामाङले अन्नपूर्ण पोस्ट्सँग भने,‘हामी सत्ता पक्ष र प्रतिपक्षको हिसाबले मात्र वार्तामा बस्छौं।’एमाले विभाजन गर्न मध्यराति संसद् स्थगित गरेर सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोले सरकारको पनि एमालेले विरोध गर्दै आएको छ। अहिले संसद्मा टेबल भएको अध्यादेश फिर्ता लिएकोप्रति एमालेले कडा निन्दा गरेको छ।
एमालेले सभामुख अग्नी सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै ९ औँ अधिवेशनको संसद् बैठक निरन्तर अवरोध गर्दै आएको छ। सभामुखले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाही प्रक्रिया अगाडि नबढाएकोप्रति एमाले असन्तुष्ट छ।
एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। संघीय संसदमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा छन्।