RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/१७ गते
६३३ पटक

नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकको तार काट्न सुरु गरेको छ । यसअघि पोल भाडा नतिर्ने सेवा प्रदायकलाई शुक्रबारसम्मको समय दिई सम्झौताका लागि आह्वान गरेको प्राधिकरणले शनिबारबाट आफ्नो अभियान सुरु गरेको हो । प्राधिकरणले तार काट्ने अभियान देशभर नै सांकेतिक रूपमा सुरु गरेको छ ।

प्राधिकरणले पोलभाडा सम्झौता गरेका र भाडा सम्झौताका लागि प्रक्रियामा गएका सेवा प्रदायकबाहेक अरु कम्पनीको तार काट्न सुरु गरेको छ । शनिबारदेखि सांकेतिक रूपमा तार काट्ने काम सुरु गरिए पनि सम्झौता गर्न जाने सेवा प्रदायकको हकमा भने काम स्थगित गरिने प्राधिकरणले जनाएको छ ।

यता इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनीहरूले भने वार्ताका लािग पहल हुनुपर्ने बताउँदै आएका छन् । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले अब यो मुद्दामा सरकारको ध्यान जानुपर्ने बताउँछन् । इन्टननेट सेवा अत्यावश्यक सेवाअन्तर्गत भएकाले तारहरू काटिँदा सेवा अवरुद्ध हुने हुँदा जवाफदेही को हुने भन्ने विषयमा वार्ता हुनु जरुरी भएको उनले बताए ।

आफूहरूले यसअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा इन्टरनेटको शुल्क वृद्धिको प्रस्ताव लगेकाले सो वृद्धि स्वीकृत भए पोलभाडा तिर्न सकिने र अन्यथा नसकिने उनको दाबी छ । इन्टनरनेट सेवा प्रदायक संघले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा १५० रुपैयाँ वृद्धिका लागि प्रस्ताव पेस गरेको छ ।

सेवा प्रदायक कम्पनीहरूका अनुसार प्राधिकरणले देशभर सयभन्दा धेरै वितरण केन्द्रमार्फत हरेक ठाउँमा एउटा÷एउटाको दरले सांकेतिक रूपमा तार काटिएको छ । यसरी तार काटिँंदा ग्राहकहरू सेवा प्रदायकसँंग आक्रोशित बन्ने गरेको पनि उनीहरूले बताएका छन् । सरकारको निकायले तार काट्दै सेवा अवरुद्ध गरेपछि सरकारले नै उचित विकल्प निकाल्नुपर्ने दाबी सेवा प्रदायक कम्पनीहरूको छ ।

अहिले देशभर कता कता तार काटियो भन्ने विवरण संकलन गरिरहेको र कति ग्राहकहरूको सेवा अवरुद्ध भयो भन्ने जानकारी आइनसकेको संघका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले बताए ।प्राधिकरणले शुक्रबारभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नका लागि सूचना प्रकाशित गरेको थियो ।

नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न पनि सूचित गरिएको थियो । प्राधिकरणले यो सूचना जारी गरे पनि सेवा प्रदायकले भने आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएका थिए । शनिबारदेखि प्राधिकरण तार काट्ने अभियानमा जुटिसकेपछि सेवा प्रदायक कम्पनीहरू भने अन्योलमा देखिएका छन् ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवा प्रदायक र नेपाल विद्युत् प्राधिकरणबीच पछिल्लो विवाद सल्टाउने प्रयास गरेको छ । प्राधिकरणले सरकारका विभिन्न निकायमा यसका सम्बन्धमा छलफल भइरहेको र भाडा घटाउनका लागि पत्राचारसमेत भइरहेको जनाएको छ । यस विषयमा थप छलफल आवश्यक रहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

www.karobardaily.com…………..

प्रतिकृया दिनुहोस्