
काठमाडौँ – देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव अहिले नेपालमा परेको छ।अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।