
जुम्ला- प्राकृतिक विपत्तीबाट हुन सक्ने क्षति बराबरको राहत किसानले पाउने गरी कृषि बिमालाई अनिवार्य गरिएको हो । जुम्लाको प्रमुख नगदेबाली स्याउ, सिमी र ओखरलगायतका अन्न बालीको कृषि बिमाप्रति आर्कषण बढेको छ ।
जसअनुसार जुम्लामा पछिल्लो समय कृषि बिमा गर्नेको संख्या वृद्धि भएको पाइएको छ । पशु तथा बाली बिमा गर्दै आएको शिखर इन्सोरेन्सको तथ्यांक अनुसार आव २०७६-०७७ मा प्रमुख नगदेबाली स्याउको बिमा गर्ने किसानको संख्या ८ सय ८० जना थियो ।
आव २०७७-०७८ हाल बढेर करिब १ हजार ४ सय २० जना किसानले स्याउ बिमा गरेको शिखर इन्सोरेन्स जुम्ला शाखा प्रबन्धक रिसिराम पाण्डेले बताए । विगतमा ५.५ प्रतिशत किसान मात्रै बिमित रहेकोमा हाल दोब्बरले बढेर करिब १० प्रतिशत किसान बिमाको पहुँचमा पुगेका छन् ।
सरकारी तथ्यांकअनुसार जुम्लाका १९ हजार घरधुरीमध्ये साढे १६ हजार घरधुरी स्याउ खेतीलगायत अन्य कृषि पेशामा आवद्ध छन् । तर बिमित किसानको संख्या १४ सय २० अर्थात १० प्रतिशत किसान कृषि बिमाको पहुँचमा पुगेको पाण्डेको भनाई छ ।
जुम्लाको आर्थिक विकास र जिविकोपार्जन गर्ने मुख्य स्रोत भनेकै स्याउ खेती हो । सरकारी तथा निजी क्षेत्रले स्याउ बिमा गर्नेबारे किसानलाई जनचेतना नदिएका पनि हैनन् । तर बिमाको फाइदा र आवश्यकता नबुझेकै कारण अझै जुम्लाका हजारौं किसान बिमाको पँहुचमा छैनन् । तर तुलनात्मक रुपमा स्याउ बिमा गर्ने किसान बढेका छन् ।
जुम्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी पातारासी गाउँपालिका ४ सय ७५जना किसानले स्याउ खेतीको बिमा गरेका छन् । यस्तै चन्दननाथका २ सय ८ जना, तातोपानीका १ सय ८८ जना, तिलाका २ सय ४८ जना, हिमाका ९५ जना किसानले स्याउ बिमा गरेका छन् ।
त्यस्तै, सिंजा गाउँपालिकाका ९८ जना र कनकासुन्दरीका १ सय ८ जना गरी १४ सय २० जना किसानले कृषि बिमा गरेका हुन् । गत वर्ष ५० हजार मात्रै विरुवाको बिमा गरिएकोमा हाल दोब्बरले बढेर आठै स्थानीय तहका गरी १ लाख २३ हजार बिरुवाको बिमा गरिएको शिखर इन्सोरेन्सले जनाएको छ ।
पशु बिमा घट्दै
जुम्लामा २०७० सालदेखि यता हरेक वर्ष जुम्लामा प्राकृतिक प्रकोप बाढी पहिरो चट्याङबाट हजारौ भेडाबाख्रा, भैंसी मरेका छन् । तथ्यांक हेर्दा २०७० सालमा ७ सय, २०७५ मा ३ सय, २०७७ मा १५० र यहि असोज ११ गते करिब ४० भेडा चट्याङ लागेर मरेका छन् । दशैं को मुखमा गुठिचौरका ४ जना किसानका ४० भेडा मर्दा बिमा नगरेको हुनाले राहत पाएनन् । जसबाट भेडा पालक किसानले करोडौको क्षति व्यवहोर्नु परेको छ । पशु बिमा नगरेकाका कारण किसानले कतैबाट पनि राहत पाएका छैनन् ।
बिमा नगरेका कारण अहिले ठूलो पश्चताप भएको गुठिचौरका भेडापालक किसान नानो भण्डारी बताउँछन् । पशु बिमा नबढ्नुमा आबश्यक प्रचार प्रसार नपुगेको समेत सरोकारवालाको भनाइ छ ।
www.karobardaily.com