यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ ।विभागले कोरोनाको दोश्रो महामारीका कारण गत १६ वैशाखदेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन सोमबारदेखि खोलेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
उनले भने, “रोकिएको आवेदन सोमबारबाट खुल्ला गरेका छौं, योसँगै नयाँ लाइसेन्स लिन चाहनेले अनलाइन आवेदन दिन सक्ने छन् ।” उनका अनुसार कोरोनाका कारण रोकिएको आवेदनले गर्दा धेरै सेवाग्राही लाइसेन्स लिनबाट बन्चित भएका थिए भने अब कार्यालयले तोकेको कोटा प्रणालीअनुसार आवेदन दिन सक्ने छन् ।
विभागले सेवाग्राहीलाई पायक पर्ने यातायात सेवा कार्यालयको ठेगाना राखेर अनलाइन आवेदन दिन सक्ने जनाएको छ । विभागले यसअघि प्रतीक्षा सूचीमा बस्ने गरी आवेदन दिने व्यवस्था मिलाएको भए पनि अब भने आवेदन दिएपछि लामो समय प्रतिक्षा गर्नु नपर्ने गरी परीक्षा प्रणाली मिलाउने जनाएको छ ।
विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ पनि लागु गरेको छ । लाइसेन्सको तयार पारिएको संशोधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले अब हुने अनुमतिपत्रको परीक्षामा लागु गर्ने विभागका महानिर्देशक घिमिरेले जानकारी दिए ।
सरकारले लागु गर्न लागेको परिमार्जित सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार वर्ग ‘क’ मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ मा कार, जिप, डेलिभरी भ्यानमा नयाँ नियम मात्र कार्यान्वयन आउने छ ।
विभागका अनुसार अब कार्यान्वयनमा ल्याउन लागिएको व्यवस्थामा मेजर र माइनर दुई क्याटोगरीमा विभाजन गरेर प्रयोगात्मक परीक्षाको अंकभार अनुसार अंक दिनेछ ।
कानूनी व्यवस्थालाई संशोधन गरेर ट्रायलमा परीक्षामा सहभागीको प्राविधिक पक्षलाई वर्गिकरण गरी अंकभार तय गरिएको र मेजर, माइनरमा अधारमा अंकभार वर्गिकरण अनुसार परीक्षार्थीले ७० अंक ल्याएका सवारी अनुमतिका लागि योग्य हुने गरी कार्यविधि संशोधन गरिएको थियो । परीक्षार्थीले ट्रायल लिनको लागि स्वयमले सवारीसाधनको व्यवस्था गर्न सक्नेछन् ।
सो सवारीले मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको अनुमतिपत्रका लागि ट्रायलमा सात चरणको परीक्षा प्रकृयामा पास हुनुपर्नेछ ।नयाँ मापदण्डमा लिखित परीक्षाका लागि एक आर्थिक वर्षमा सोधिने ५ सय वस्तुगत प्रश्नको संग्रह प्रकाशन गर्नेछ । सय पूर्णाङ्कको अंकभार रहेको छ । ३० मिनेटमा २० प्रश्नमा १० प्रश्नको अनिवार्य उत्तर दिनु पर्नेछ ।
तोकिएको अंक भारमा लिखित पास भएका परिक्षार्थी मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने छन् । अनुमतिपत्रको लिखित परीक्षाका लागि पाठ्यक्रम पनि विभागले सार्वजनिक गरिसकेको छ । कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत भइसकेको छ ।
www.karobardaily.com