RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/१८ गते
१२९२ पटक

काठमाडौँ — झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) बनाएर राजस्व छली गर्ने कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले एकसाथ १७ वटा मुद्दा दायर गरेको छ । विभागले पछिल्लो १ सातामा उच्च अदालत पाटनमा दायर यी मुद्दामा २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको बिगो र सोहीबराबर जरिवाना मागदाबी गरिएको छ ।

भ्याट बिल छली प्रकरणमा निर्माण व्यवसायीदेखि आईटी कम्पनीका सञ्चालकसम्म मुछिएका छन् । विभागका अनुसार सांग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल र न्यु महादेव इन्टरनेसनलका सञ्चालक गुलसन श्रीवास्तव, रामबाबु ठाकुर हजाम, नन्दकिशोर शर्मा, पलट राउत अहिर, मयंक इन्टरप्राइजेजका सञ्चालक महमद देवान साहविरुद्ध मुद्दा दायर गरिएको छ ।

शुभ लक्ष्मी इन्टरनेसनलका सञ्चालक राजदेव राय, प्रिन्स इन्टरनेसनलका प्रोप्राइटर रामचन्द्र माझीलगायत विरुद्ध १९ करोड १८ लाख ६८ हजार ७६५ रुपैयाँ बराबर बिगो माग गरिएको छ । उनीहरूले राजस्व छली गर्नकै लागि झूटा र नक्कली कर बीजक जारी गरेको तर वस्तु र सेवाको खरिद भने नगरेको विभागले सोमबार दायर गरेको मुद्दामा उल्लेख छ ।

त्यस्तै, बाराको महालक्ष्मी ट्रेड कन्सर्न र सौभाग्य इन्टरनेसनलका सञ्चालक सञ्जयप्रसाद कलवार र प्रदीप पासवानविरुद्ध ३६ करोड ९ लाख २८ हजार ५ सय रुपैयाँ बिगो माग गरिएको छ । पर्सा बेलवा गाउँपालिका–७ बस्ने चन्दन सप्लायर्सका सञ्चालक चन्दन पटेल, लक्ष्मीपति बालाजी ट्रेड लिंकका सञ्चालक मनिर अन्सारी, न्यु देव इन्टरप्राइजेजका सञ्चालक इन्द्रदेव महतो नोनियालाई पनि विपक्षी बनाइएको छ । यी सबै कम्पनीले नवराजप्रसाद उपाध्यायमार्फत नक्कली भ्याट बिल बनाई करछलीमा संलग्न भएको विभागको दाबी छ ।

जे गुरुङ एन्ड एसोसिएट्सका सञ्चालक जगन्नाथ गुरुङ, मरहठ्ठा एन्ड कम्पनीका सञ्चालक कृष्णहरि मरहठ्ठा, सेढाईं एन्ड एसोसिएट्सका सञ्चालक काशीनाथ शर्मा सेढाईंलगायत विरुद्ध ३५ करोड २२ लाख ३६ हजार रुपैयाँ बिगो माग गर्दे मुद्दा दायर गरिएको छ । हनुमान सप्लायर्सका सञ्चालक सिमरन कुमारी गुप्ता, महावीर सप्लायर्सका सञ्चालक पूजा पराजुली र यी कम्पनीका मुख्य कारोबारी दीपकुमार गुप्तालाई पनि विपक्षी बनाइएको छ । उनीहरूबाट १४ करोड ८६ लाख ५१ हजार ५ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्