RaraNews

बिनाराम खड्का प्रकाशित : २०७८/७/१९ गते
९३१ पटक
बिनाराम खड्का

उतिखेर २०४८ सालको निर्वाचनमा हाल सानीभेरी एफएम बसेको घरको अगाडि (पुराना माओवादी नेता कुवेर ओलीको स्वामित्वमा भएपनि हाल विक्री भइसकेको) घर को तल्लो तलाको छेउको कोठामा थिए जनार्दन शर्मा । झुम्म दारी पालेका उतिखेरका हाम्रा आदर्श व्यक्ति उनै प्रभाकर । रुकुम क्षेत्र नम्वर २ को निर्वाचनको मतगणना भइरहेको थियो । १ नम्बरबाट त खड्गबहादुर बुढा १० हजार भन्दा बढी मतको अन्तरले विजय उन्मुख थिए । निर्वाचन क्षेत्र नम्वर २ मा गोपाल जि जङ्ग शाह र जनार्दन शर्माको कडा टक्कर थियो ।

मतगणना स्थल भित्रबाट एकजनाले लहरेसिमलको मतगणना भइरहेको र अब धेरै बाँकी नभएको खबर ल्यायो । यति उति हिसावकिताब सुनायो । उनै जनार्दनले झुम्म पालेका लामालामा दारी मुसार्दै भने “मत भए आइजाला¸ नभए के गर्ने त !” केही समयपछि करीब ९०० मतान्तरले गोपाल जि जङ्ग शाहले चुनाव जिते । जनार्दन शर्मा पराजित भए । उतिखेरका निख्खुर क्रान्तिकारी जनार्दनलाई चुनाव लड्न मनाउन प्रचन्ड पनि आएका थिए रुकुम भन्ने सुनेको थिएँ उतिखेरै । सही साँचो के हो खासै आधिकारीक जानकारी त भएन । त्यतिबेला प्रचन्डको खासै परिचय पनि थिएन डा.बाबुराम भट्टराइ जति ।

त्यसपछि २०५२ देखि जे हुनु भइहाल्यो । सबैलाई ज्ञात नै छ । जनार्दन नेपाली राजनीतिमा उदाए । नेपाली राजनीतिमा उनको भुमिका विस्तारसंगै रुकुममा पनि प्रभाव बढ्दै गयो । पहिले स्वयम् उनकै वडामा पनि काँग्रेसकै बर्चस्व थियो । उनको निर्वाचन क्षेत्रमा पर्ने छिवाङ्ग¸ चौरजहारी¸ अर्मा¸ मुरु लगायतका ठाउँमा काँग्रेसको मत धेरै थियो ।

उनको जन्मस्थान खलंगा गाविस भने क्षेत्र नम्वर १ मा पर्थ्यो । बहुदल प्राप्तिपछि पहिलोपटक भएको स्थानीय निकाय निर्वाचनमा तत्कालिन खलंगा गाविसमा वडा नम्वर ६ (सोलाबाङ्ग) र ७ (ठाराढुङ्गा) बाहेक बाँकी सबै वडामा काँग्रेस विजयी भएको थियो । ठाउँठाउँबाट सामना परिवारको साँस्कृतिक टोली लखेटिएको थियो भने स्वयम प्रभाकर छिबाङ्गज्युलातिर घेरावन्दीमा परेका थिए । माओवादी आन्दोलनको उदयसंगै क्रमश: काँग्रेस किनारा पर्यो । २०६४ सालको निर्वाचनसम्म आउंदा रुकुममा माओवादी बाहेक अरुले जित्ने सम्भावना हुने कुरै भएन । तैपनि निकटतम प्रतिद्वन्दी काँग्रेस नै थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनसम्म कांग्रेस रुकुमका केही वडा तहसम्म सीमित रह्यो भने सबै पालिका¸ प्रतिनिधि सभा¸ प्रदेश सबैतिर माओवादी नै विजयी भयो । अहिले पनि भित्रभित्र पसेर हेर्दा माओवादीको जनमतमा भारी गिरावट आएको देखिदैन । प्रभाकरको पहलमा रुकुममा धेरै विकास पनि भएको छ । तर पनि अल्पविकसित देश नेपालमा सबैका इच्छा¸ आकांक्षा र आवश्यकता परिपुर्ती नभएपछि सत्तासंगका असन्तुष्टी गुनासाहरु बढ्छन् । धेरै असन्तुष्टीहरुलाई नेतृत्व गर्नसक्ने पार्टीले नै चुनाव जितेको इतिहास छ । संघियतापछि स्थानीय तहमा माओवादीको एकछत्र राजपछि काग्रेसका पनि धेरै मान्छेहरु माओवादी भएका छन् । र माओवादीका पनि धेरै मान्छेहरु काँग्रेस भएका छन् । असन्तुष्टीको समष्टिगत विश्लेषण गर्दा काँग्रेसभन्दा माओवादी भित्र धेरै बढी देखिन्छ । किनकी सत्ता र सरकारले सम्बोधन गर्न नसकेकाहरुमा असन्तुष्टीहरु केही बढी हुने नै भए । काँग्रेसमा भने गुटगत र व्यक्तिगत असन्तुष्टीहरु देखिन्छन् ।

त्यस्तै स्थानीय तहको निर्माणपछि केही रैथाने टाठाबाठा¸ बुद्धिजिवी¸ पेशाकर्मीहरु पनि सत्तारुढ माओवादीप्रति अली धेरै बिच्किएका छन् । गाउँगाउँमा जरो गाडेका शिक्षकहरु जसले प्रत्येक वडा र टोलमा केही मत यताउता तलमाथी पार्ने सामर्थ्य राख्छन ति माओवादीको व्यवहारबाट आजित छन् । तर बाध्यतावश माओवादीकै संघ¸ संगठनमा आवद्ध हुन विवश छन् ।

शिक्षकका संघ¸ संगठनको मागलाई सम्बोधन गर्दै केन्द्र सरकार र अर्थमन्त्री जनार्दन शर्माको चलाखीले यही मौकामा रुकुम पश्चिमका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । हुनत यो प्रशासनिक र सरकारको निर्णय हो तर अहिलेसम्म प्राप्त नुहुनु र जनार्दन शर्मा अर्थमन्त्री हुँदा नै प्राप्त गरेको कारण राजनीतिमा त्यसको धेरथोर भएपनि रणनीतिक लाभ हुने नै भयो । डा रामशरण महत अर्थमन्त्री हुँदा कर्मचारीको पनि स्थानीय भत्ता घटाई ग बर्गको बनाएकोमा उतिखेर पनि कर्मचारी संघ¸ संगठनको संयुक्त आन्दोलनको कारण रुकुम लगायत दश जिल्लाको स्थानीय भत्ता पुर्ववत यथावत राखिएको थियो ।

तर पनि धेरै पेशाकर्मीहरुको भित्री मन माओवादीप्रति कुँडिएको अवस्था सही साँचो हो । तर उपयुक्त विकल्पको अभावमा छंदाखाँदाको पार्टी¸ संगठन छोड्न सकेका छैनन । उता काँग्रेसका जनवर्गीय र सुभेच्छुक संयन्त्र पनि प्रभावकारी र सक्रिय छैनन । ति व्यक्तिगत कानेखुशी र मनोगत आत्मरतिमा मात्र लीन छन् ।

माओवादीमा स्थान विशेष र क्षेत्र विशेषको आधारमा केही क्षेत्रीयतावादी मुद्दाहरु पनि भित्रभित्रै सल्किरहेका छन् । त्यस्तै जातियता र परिवारवाद, नातागोता, आफन्त र हैकमवादका गुनासाहरु पनि गुन्जिरहेका छन् । नेतृत्वको एकाधिकारवादी सोँचको विरुद्धमा पनि माओवादी भित्र भित्री साँठगाँठ¸ कित्ताकाँट¸ गुटबन्दी र चलखेल भइरहेको छ । केही क्षेत्र र स्थानमा काँग्रेसले ल्याउँछ कि क्याहो अब भन्ने खालका मनोवैज्ञानिक त्रास पनि झल्किन्छन् ।

विशेषत: स्थानीय तहतिर वैकल्पिक नेतृत्व खडा हुनुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । केही राजनीतिक¸ साँगठनिक¸ कार्य शैलीगत¸ स्वभावगत¸ व्यक्तिगत र केही विगतदेखिकै अन्तरविरोधहरु पनि माओवादी भित्र सल्बलाइरहेका छन् । विवाद र अन्तरविरोधको वीचबाट स्वभावत् मानवीय स्वभाव कहिलेकाही घटनाक्रमहरुको विकासक्रमसंगै विकल्प पनि खोज्न तम्सिने गर्छ । संधै भइरहेको र गरिरहेको भन्दा नयाँ केही छ कि भनी यताउती हेर्ने चलन मान्छेको पुस्तौनी प्रचलन पनि हो । नयाँनयाँ विकल्पको खोजीकै क्रममा मान्छे ढेडुबाँदरबाट मान्छे भएको हो । ढुङ्गे युग जंगली सभ्यताको विकल्प छैन¸ रुखमा¸ ओरालमा बस्नुको विकल्प छैन भनी त्यही मनचित्त बुझाएको भए ओरान्टाङ्ग ढेढु रामापिथेकश हुने थिएन । पशुपति वनकालीकै बाँदर हुने थियो अहिलेसम्म । त्यसैले जन्मजात मानवीय स्वभाव अनुसार नै यताउती आँखा डुलाउनेहरुको पनि संख्या बढिरहेको छ ।

यसै परिवेशमा स्थानीय तह¸ प्रदेश र संघका निर्वाचनहरु नजिक आइरहेका छन् । संघमा कांग्रेसकै नेतृत्वमा सरकार छ भने भर्खरै कर्णाली प्रदेशमा पनि काँग्रेसले मुख्यमन्त्री पड्काउन सफल भएको छ । संघको राजनीतिक कुरा त आफ्नै ठाउँमा छ । त्यसको छुट्टै विश्लेषणको जरुरत पर्छ । कर्णाली प्रदेश जस्तो माओवादीको आधारभुमीमा काँग्रेसजस्तो तेस्रो पोजिसनको पार्टीले मुख्यमन्त्री उछिट्टयाउनु भनेको रणनीतिक रुपमा अर्थपुर्ण र दुरगामी महत्वको विषय हो । कर्णाली प्रदेशका केही निर्वाचन क्षेत्र बाहेक रुकुम लगायत धेरैजसोमा काँग्रेसका उम्मेदवार र नेतृत्वमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास नै थिएन । कर्णालीको मुख्यमन्त्री प्राप्तीपछि कांग्रेसको आत्मबल बढ्ने देखिन्छ ।

राजनीतिमा आत्मबलको ठुलो महत्व हुन्छ । कतिपय काँग्रेसका नेता कार्यकर्तालाई प्राविधिक रुपमा काँग्रेस भएपनि आन्तरिक रुपमा सत्तारुढ र शक्तिमा रहेको माओवादीका नेताहरुसंग मिलीभगत गरेर मात्र अवसर प्राप्त गर्नुपर्ने वाध्यता थियो । कार्यकर्ताहरुको संरक्षण र पहुँच विस्तारको लागि सत्ताका निकायहरुमा कांग्रेसको संयन्त्र थिएन । स्थानीय र जिल्लाका नेताहरुको सुझाव केन्द्रले सुनेको देखिदैनथ्यो । कतिपय स्थानमा काँग्रेस बहुमतमा भएपनि सबै कार्यकर्ताले भोट हाल्न सक्ने¸ खुलेर म काँग्रेस हुँ भन्ने वातावरण पनि थिएन । अव यो स्थितिमा केही सुधार हुने देखिन्छ ।

तर पनि काँग्रेसको राष्ट्रिय राजनीतिको भुमिका के रहन्छ ? त्यसको कमवेसी असर स्थानीय तथा प्रदेशमा पनि परिनै हाल्छ । माओवादीको रणनीति त प्रष्टै छ । जे जसरी हुन्छ । लागेपुगेसम्म जो जससंग मिलेर वा लडेर¸ सके सल्लाहबाट नसके जवर्जस्ती भएपनि आफ्नो अस्तित्व कायम गर्ने नै हो । काँग्रेसको प्रतिपक्ष दल एमालेसंग कस्तो किसिमले प्रतिस्पर्धा हुन्छ ? ओली नेतृत्वको एमालेको ओभर कन्फिडेन्स कहाँसम्म पुग्छ ? एमालेको गठबन्धन कोसंग कसरी हुन्छ वा हुँदैन ? ओलीको चातुर्यता¸ वाकपटुता¸ विषयलाई आफ्नो दिशामा मोड्न सक्ने आत्मविश्वास कति प्रभावकारी हुन्छ ? उसका आगामी गतिविधि ओलीको बोलीझैँ आक्रामक र हस्तक्षेपकारी हुन्छन कि बोली एकातिर गतिविधि अर्कोतिर ? अहिल्यै धेरै बोल्न सकिने अवस्था छैन ।

स्थानीय स्तरमा एमाले र कांग्रेसको राजनीतिक र साँगठनिक मुभ कस्तो रहन्छ ? निर्वाचन परिणाम त्यसमा पनि भरपर्छ । सामान्य तुलना गर्दा जन्मजात रुपमा कम्युनिष्ट जत्तिकै आक्रामक¸ प्रभावकारी र आकर्षक चुनावी अभियान कांग्रेसका हुंदैनन । निर्वाचनमा चुनावी अभियानको पनि ठुलो महत्व रहन्छ । त्यस्तै काँग्रेसले अरु दलभित्रको अन्तरविरोधलाई सही किसिमले सही समयमा पहिचान गर्न सक्दैन । कम्युनिष्टहरुले सबैभन्दा पहिले विरोधीहरुको शक्तिको आँकलन¸ विश्लेषण गरी विरोधीहरुको वीचमा दरार पैदा गरी आक्रमण गर्ने गर्छन । प्रचन्ड जहिले पनि शिखरमा हुनुको एउटै मात्र कार्यकारण त्यही हो । सक्किइसकेको¸ ओझेलमा परिसकेको¸ धुजाधुजा¸ टुक्राटुक्रा¸ तितरवितर परिसकेको माओवादीलाई पटकपटक केन्द्रभागमा पार्ने प्रचन्ड ट्याक्टिस भनेकै विरोधीहरुको विचमा फाटो र टकराव ल्याएर आफुले त्यसमा खेल्ने हो । तर काँग्रेसमा त्यो गर्ने चातुर्यता र कलाकौशल छैन । विरोधीहरुमा देखिएको अन्तरविरोधमा खेल्ने र आफ्नो वर्चस्व विस्तार गर्ने सवालमा काँग्रेस धेरै धिमा र मन्द गतिमा छ ।

समग्र कर्णाली प्रदेशमा साविक एमाले बलीयो पार्टी भए पनि त्यहाँ टुटफुट आएको छ । फुटको प्रत्यक्ष असर निर्वाचनमा परिहाल्छ । आउंदो निर्वाचनमा कर्णाली प्रदेशमा एमालेको आक्रामक संगठन विस्तार हुने अवस्था देखिदैन । रैथाने र प्राचिन एमालेले मात्र विजय होला नहोला त्यसको आँकलन अहिल्यै गर्नसक्ने अवस्था छैन । समग्र प्रदेशको हकमा काँग्रेसको लिडिङ्गमा मिश्रित परिणाम आउने आँकलन गर्न सकिन्छ । तर रुकुम पश्चिम जिल्लाको सन्दर्भमा एमाले तेस्रो स्थानबाट माथि उक्सिन महामुश्किल नै छ ।

रुकुम पश्चिममा एमालेका गतिविधि साँकेतिक र पार्टीगत अस्तित्व प्रर्दशनमा संकुचित हुने देखिन्छ । रुकुम पश्चिममा एमालेको सक्रियता पहिलेकै तेस्रो स्थानमा पार्टीलाई पुर्याउनु मै सिमित नहोला भन्न सकिन्न । यस्तो अवस्थामा जनता र मतदातामा रहेको असन्तुष्टीहरु¸ ‘एउटा निर्वाचनमा त विकल्प भए पनि ठिकै हुँदो हो’ भन्ने तटस्थ र मध्यमार्गी मतदाताहरुको मनोविज्ञानलाई आफ्नो पोल्टामा पार्न सक्यो भने रुकुम पश्चिमको हकमा माओवादीको विकल्प काँग्रेस नै हुनसक्छ ।

तर काँग्रेसका धेरै स्थानीय र जिल्लास्तरीय नेताहरु सुश्तमनस्थिति र लो ब्लड प्रेसरवाला छन् । पुसमाघ महिनामा बरु नदी किनाराको बगरको ढुङ्गो तातो होला तर केही अपवाद बाहेक रुकुमका काँग्रेसीहरु त्यो भन्दा चिसा छन् । उफरउफरै फुँइ लाउने भुँइको नदेख्ने खालका नेताले तटस्थ र अरुको मत आकर्षणको त कुरै छोडौँ आफ्नै भएको मत पनि पाउन सक्दैनन । चुनावमा काँग्रसकै कार्यकर्ता कांग्रेसलाई नै भोट हाल्न जाँगर लाउंदैनन । कारण भोट त हालिएला भोट हालेर फर्किसकेपछि गाउँको बसाई कत्तिको सुरक्षित रहला ! नेतृत्व र पार्टीले रक्षा संरक्षण गर्ला कि नगर्ला भन्ने विश्वास काँग्रेसजनमा छैन ।

चुनावमा तडगभडगले पनि प्रभाव पार्छ । माओवादीले युवा जमातलाई आकर्षक रुपमा परिचालन गर्दा काँग्रेसका उम्मेदवार फिते झोलामा कट्टा बेलाइती हालेर गाउँमा डुलेका देखिन्छन् । एउटो छापिएको पर्चो पनि पढिसकेपछि फिर्ता माग्ने खालका उम्मेदवारले जनार्दन शर्माहरुको अगाडी चुनावी माहोल कब्जा गर्न गाह्रो छ । सर्वहारावादी पार्टी माओवादीका कार्यक्रम प्रचारप्रसार रङ्गीचङ्गी रहरलाग्दा हुने पुजीपति भनिएको काँग्रेसका कार्यक्रमहरु निरस र खल्ला हुँदा भनेका कुरा सुन्न पनि मान्छहरु जम्मा हुँदैनन । कुरै नसुनी भोट कसरी झर्ला ! जनार्दन शर्माहरु धेरै चलाख र चतुर छन् । जतिखेर तातिएको छ उतिखेरै प्रहार गरिहाल्छन् र परिस्थितिलाई आफु अनुकूल बङ्ग्याइहाल्छन् । काँग्रेसका गुटगत टकरावलाई पनि काँग्रेसीजनले चाल नपाउने गरी मिहिन रुपमा उपयोग गरिहाल्छन् । स्वयम काँग्रेसलाई थाहा हुदैन । काँग्रेसकै प्रतिनिधिको कार्ड भिरेर कतिपय मतदान केन्द्रमा माओवादीले आफ्नो अनुकुल हुनेगरी काँग्रेसलाई नै प्रयोग पनि गरिरहेका हुन्छन । रुकुम चर्को क्रान्तिकारी आधारभुमी भएको ठाउँमा उस्तैको लवस्तरो र शुष्क गति शैलीले कांग्रेसले परिणाम हात पार्ने देखिदैन । टाढैबाट उनीहरुको हाउभाउ¸ गतिविधिको हालसम्मको मनोवैज्ञानिक आँकलन र विश्लेषण गर्दा काँग्रेसका रैथाने नेताहरु अंझै पनि रुकुममा हामी चुनाव जित्छौँ भन्ने आन्तरिक निचोडमा पुगिसकेको अवस्था देखिदैन । उनीहरुको आन्तरिक तयारी पनि त्यो अनुकुल भएका संकेत बाह्य रुपमा प्रतिविम्वित भइरहेका छैनन । कम्युनिष्ठको गढ भत्काउन त्यति सजिलो छैन । त्यसको लागि नेतृत्व¸ संगठन¸ कार्यकर्ताको निश्चित योजना र घनिभुत तयारी सहित आक्रामक रणनीति चाहिन्छ ।

आकर्षण भन्दा पनि बिकर्षणको सिद्दान्त र विकल्पविहीन विकल्पको खोजीमा मान्छेहरु काँग्रेसको सभा¸ समारोहमा थुप्रिए पनि काँग्रेसका नेताहरुमा जित्ने आत्मविश्वास नपलाउन्जेलसम्म अर्को चुनावको परिणाम पनि माओवादीकै पोल्टामा जाने देखिन्छ । कांग्रेसले केही स्थानमा विजयी र केही स्थानमा कडा टक्कर भने दिन सक्छ । यसमा माओवादीसंगको सत्तागठवन्धनको पनि केही प्रभाव रहला । माओवादी काँग्रेसको सत्तागठवन्धन लामो समय टिक्न सक्ने कुनै सैद्धान्तिक र मनोसामाजिक आधार छैन । प्रचन्डले काँग्रेसलाई अडेस लाएर आगामी चुनावी रणनीतिका खाका कोरिरहेका छन् ।

कांग्रेस माओवादी गठबन्धनमा कांग्रेसले माओवादीलाई भोट हाल्ने सुनिश्चित नभएको अवस्थामा काँग्रेस बाहेक जसपा¸ समाजवादी¸ पुर्व माओवादी लगायतसंग अजेन्डागत र भावनात्मक रुपमा गठबन्धन बन्ने सुनिश्चितता भएको केही मिनेटमै प्रचन्डले शेरबहादुरलाई लात हान्ने निश्चित छ । एमाले र केपी ओलीको प्रतिशोधमा निर्माण भएको यो गठवन्धनको वियोगान्त हुने त निश्चित नै छ । तर वियोगान्त र विछोडको शैली कस्तो हुन्छ ? दुइपक्षको सहमतीमै हुन्छ कि आक्रामक¸ परस्पर दोषारोपन गर्दै¸ एकले अर्कोलाई सत्तोसराफ गर्दै हुन्छ ? त्यसमा पनि अवको चुनावी गतिविधि परिणाम प्रभावित होला । काँग्रेस माओवादीको तिक्तता बढेर¸ दुरी बढेको अवस्थामा प्रचन्ड माओवादीको चुनावी तालमेल अन्य दलसंग हुने सम्भावना छ । यस्तो अवस्थामा चुनावी परिणाममा केही तलमाथी हुनसक्छ ।

समग्रगमा सरसर्ती विश्लेषण गर्दा कर्णाली प्रदेश र रुकुम पश्चिमतिर कांग्रेसको खस्केको मनोबल केही बृद्धि भएकोजस्तो देखिन्छ । उहिल्यैदेखि हराएको र लापत्ता भएको “सातो” फर्किन लागेजस्तो छ । तर रुकुम पश्चिमको सन्दर्भमा हालसम्मका पार्टीगत गतिविधि नियाल्ला माओवादीको वैकल्पिक शक्तिकै रुपमा उदाइसकेको अवस्था भने देखिदैन । बाँकी दिनमा के कस्तो हुन्छ । अनुमान नेपाल डट कम गर्दै गरौँला । धनियापात । नमस्कार । क्रान्तिकारी जय नेपालको लालसलाम ।

प्रतिकृया दिनुहोस्