RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२६ गते
६५५ पटक

कोभिड– १९ को जाखिमका कारण लामो समय बन्द रहेका विद्यालय पूर्ण रूपमा खुल्न थालेका छन् । कोभिडको संक्रमण दर घटेर निषेधाज्ञा हटेदेखि नै केही शैक्षिक संंस्थाले भौतिक रूपमा कक्षा सञ्चालन गरेका थिए । बाँकी शैक्षिक संस्थाले छठ पर्व सकिएलगत्तैबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन थालेका हुन् ।

विज्ञहरूले भने विद्यालय तथा विश्वविद्यालयका कक्षा सञ्चालनमा डराउनुपर्ने अवस्था नभए पनि होसियार अपनाउन सुझाब दिएका छन् । कोभिड संक्रमणको जोखिम रहिरहेकाले व्यवस्थापन पक्षलाई बलियो बनाएर कक्षा सञ्चालन गर्न विज्ञहरूले सुझाब दिएका हुन् । भाइरोलोजिस्ट डा. अनुप बास्तोला कोभिड– १९ को संक्रमण अब पहिलो र दोस्रो लहरमा फैलिने अवस्था नभए पनि नयाँ भेरियन्ट आउन सक्ने र बालबालिकालाई हुने जोखिम कम गर्न सतर्क हुनुपर्ने बताउँछन् । कोभिडको जोखिम कम गर्न स्वस्थ व्यक्ति मात्र विद्यालय जानुपर्ने उनको भनाइ छ ।

‘अब कोभिड–१९ को संक्रमण पहिलो र दोस्रो लहरमा फैलिने अवस्था छैन । तर, नयाँ भेरियन्ट आउन सक्ने र बालबालिकामा त्यसको प्रभाव बढी हुन सक्ने भएकाले जोखिम कम गर्न सतर्क हुनैपर्छ,’ डा. बास्तोलाले नयाँ पत्रिकासँग भने, ‘अस्वस्थ व्यक्ति घरमै रहेर उपचार वा चिकित्सकको निगरानीमा बस्ने तथा स्वस्थ व्यक्ति मात्र विद्यालय वा विश्वविद्यालय जाने गर्दा त्यस्तो जोखिम कम गर्न सकिन्छ ।’

काठमाडौं उपत्यकामै केही विश्वविद्यालय तथा विद्यालयले गत असोजबाटै भौतिक रूपमा कक्षा सञ्चालन सुरु गरेका थिए । केहीले बिहीबारबाट सुरु गरेका छन् । बाँकीले आइतबारबाट पूर्ण रूपमा कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । लामो समयसम्म चलेका अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी नभएपछि शिक्षा मन्त्रालयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विद्यालय सञ्चालन कार्यढाँचा ०७७ अनुसार कक्षा सञ्चालन गर्न प्रोत्साहन गरेका थिए । त्यसक्रममा सुरुवाती दिनमा अधिकांश विद्यालयले माथिल्लो कक्षाबाट भौतिक रूपमा पढाइ सुरु गरेर बिस्तारै तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा बोलाएका थिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले झन्डै ६५ प्रतिशत विद्यालयले भौतिक रूपमा कक्षा सुरु गरिसकेको जानकारी दिए । दसैँ, तिहार र छठजस्ता पर्व सकिएकाले अब सबै विद्यालयले भौतिक रूपमा कक्षा सुरु गर्न थालेको महानिर्देशक पौडेलले जानकारी दिए । उनले भने, ‘दसैँअघि नै ६५ प्रतिशत विद्यालय खुलिसकेका थिए । बाँकी विद्यालय पनि छठ पर्व सकिएपछि धमाधम खुल्न थालेका छन्,’ पौडेलले भने, ‘तर, कोभिड– १९ को जोखिम पूर्ण रूपमा अझै हटिसकेको होइन । त्यसैले भौतिक रूपमा कक्षा सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ ।’ भौतिक रूपमा विद्यालय सञ्चालनका लागि स्थानीय तहलाई सहजीकरण गर्ने उनले बताए ।

www.nayapatrikadaily.com

प्रतिकृया दिनुहोस्