RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
७१६ पटक

काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । आजदेखि मङ्सिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मङ्सिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मङ्सिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरूप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रूपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रूपमा रहने उनले बताए ।

यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ । त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।

प्रतिकृया दिनुहोस्