RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
४७० पटक

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा नेप्से ३२ सय पार गर्दा पनि लगानीकर्ताहरूले लाभ लिन सकेनन् । यी दुई बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा कारोबार गर्न सकिँदैन । मर्जर प्रक्रियामा रहेका कम्पनीहरूको कारोबार ब्लक हुने गरेको छ । यस कारणले लगानीकर्ताहरूले फाइदा लिन सकेनन् ।
पछिल्लो समयमा विभिन्न बैंक तथा वित्त कम्पनीहरूबीच एकआपसमा मर्जरको लहर चलिरहेको छ । त्यसैगरी बिग बैंकहरूको बिग मर्जरको पनि चर्चा चलिरहेको छ । पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक बाहेक विभिन्न लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायरको प्रक्रियामा रहेका छन् । केही कम्पनीहरूले सफलताका साथ मर्जर सम्पन्न गरी एकीकृत कारोबारसमेत गरिसकेका छन् । बैंकहरू एकआपसमा मर्जर वा एक्वायर गर्दा लगानीकर्ताहरूलाई लाभ भएको छ कि हानि ? भन्ने प्रश्न उठ्ने गरेको छ लगानीकर्ताहरूमाझ । एकातिर बिग बैंकहरूको संख्या घटाउनका लागि नेपाल राष्ट्र बैंकले बिग मर्जरमा जानका लागि दवाब दिने गरेको छ भनिन्छ तर अर्कोतिर बिग बैंकहरू बिग मर्जरमा जान जान त्यति उत्सुक भने देखिएका छैनन् । त्यसो त बिग बैंकहरूको एकआपसमा मर्जर हुने चर्चा भने चलि नै रहन्छ । कतिपय बिग बैंकहरूको बिग मर्जरको हल्लाले मात्र पनि सेयर बजारमा चलखेल हुने गरेको पनि देखिन्छ ।
केही लघुवित्त कम्पनीहरूले आफ्नो पुँजी बढाउनका लागि हकप्रद सेयर जारी गर्ने स्वीकृति माग्दा नियामक निकायले नदिएको र मर्जरमा जान दबाब दिने गरेको पनि छ ।
कतिपय लघुवित्त कम्पनीहरू पुंजी वृद्धि गर्नका लागि भए पनि बाध्यतावश मर्जरमा जाने गरेको बुझ्न सकिन्छ । पछिल्लो समयमा आईपीओ अर्थात् प्राथमिक सेयर निष्कासन नगरेका कतिपय लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायर गर्ने गरिरहेका छन् । यसले पनि लगानीकर्ताहरूले आईपीओ सेयर भर्न पाइरहेका छैनन् । एक सयमा किन्न पाइने सेयरको धनी हुनबाट लगानीकर्ता वञ्चित हुनुपरिरहेको छ । त्यसो त मर्जर वा एक्वायरबाट कतिपय लगानीकर्ता दोहोरो मारमा पर्ने गरेका छन् । कतिपय अवस्थामा कम्पनीहरू मर्जर र एक्वायरमा गएपछि लगानीकर्ताहरूलाई लाभभन्दा पनि हानि हुने गरेको छ । विभिन्न कम्पनीहरूबीच मर्जर वा एक्वायरको हल्ला मात्र चले पनि सेयर बजारमा सेयरको मूल्यमा तलमाथि हुने गर्छ भने मर्जर प्रणालीमा रहेसम्म सेयरको कारोबार हुँदैन, लगानीकर्ताहरूको लगानी ब्लक हुने गर्छ । कतिपय लगानीकर्ताहरूले लोनमा लगानी गरेका पनि हुन्छन् भने कतिपय लगानीकर्ताहरू आपूmलाई आवश्यक परेको बेला सेयर बिक्री गर्न पाउँदैनन् । यसले पनि धेरै लगानीकर्ताले हानि बेहोर्न परिरहेको हुन्छ ।
एकातिर सेयर कारोबार गर्न नसकिने, अर्कातिर कम्पनीहरूले मर्जरको बेला एकआपसमा गरिने स्वाप रेसियोबाट पनि लगानीकर्ताहरूले हानि बेहोर्नुपर्ने भइरहेको छ । त्यस्तै, मर्जर प्रक्रिया लम्बिने कारणले पनि लगानीकर्ताहरूलाई नोक्सानी हुने गरेको छ । साथै, स्वाप रेसियो निर्धारण हुँदा कम्पनीहरूबीच चलखेल हुने गरेको कारण पनि हानी भएको लगानीकर्ताको अनुभव छ । मर्जर प्रक्रिया लम्बिने मात्र होइन कतिपय मर्जर प्रक्रिया पनि असफल हुनेपनि भउकाले पनि लगानीकर्तालाई हानी छ ।
सहारा विकास बैंकको मर्जर प्रक्रियामा रहेको वर्षौं भइसक्यो, तर पनि मर्जर प्रक्रियाको टुंगो लागेको छैन । यसका लगानीकर्ताहरूको सेयर वर्षौंदेखि ब्लक भइरहेको छ । यसले गर्दा यस विकास बैंकका लगानीकर्ताहरूले ठूलै नोक्सानी बेहोर्न परिरहेको छ । हिजोको दिनमा पनि बैंक तथा वित्त कम्पनीहरू एकआपसमा मर्जर गर्ने एक्वायर गर्ने गरेका थिए । मर्जर र एक्वायर गर्ने गरेका कतिपय बैंक तथा वित्त कम्पनीहरूको मर्जर सफल भयो भने कतिपयको असफल पनि भयो । त्यसो त एउटा कम्पनीसँग मर्जर प्रक्रिया असफल भए फेरि अर्को कम्पनीसँग मर्जर गर्नका लागि पार्टनर खोज्ने गरेको पनि देखिन्छ ।
त्यसैले बिग बैंकहरूको संख्या घटाउनका लागि मर्जरमा जान बिग मर्जर उपयुक्त भए पनि यस्तो बिग मर्जरहरू सफल नै हुन्छन् त भन्ने पनि प्रश्न छ । बिग बैंकहरूको बिग मर्जर गर्दा अन्तिममा आएर मर्जरमा केही कठिनाइ आई बिग मर्जर नै असफल हुने गरेका छन् । यसले कम्पनीहरूलाई त्यति नोक्सानी नगरे पनि सेयर धनी लगानीकर्ताहरूलाई भने यसले नोक्सानीमा पार्ने गरेको छ । बैंक तथा वित्त कम्पनीहरू वा अन्य कम्पनीहरू एकआपसमा मर्जर गर्दा मर्जर असफल हुने, भाँडिने, तोडिने पनि हुने गरेका छन् । धेरैजसो मर्जर प्रक्रिया असफल हुने कारणमा स्वाप रेसियो नै मुख्य कारण रहेको छ भने सञ्चालक समितिमा प्रतिनिधित्व, कर्मचारी समायोजनमा पनि समस्या आएर मर्जर प्रक्रिया असफल हुने गरेको पनि छ । स्वाप रेसियोको निर्धारण डीडीएले गर्ने गरेको भए पनि कतिपय अबस्थामा स्वाप रेसियोका लागि चलखेल पनि हुने गरेका, कमिसनको चक्कर पनि चल्ने गरेको पनि सुनिन्छ ।
जुनसकै कारणले मर्जर असफल भए पनि नोक्सानीमा भने सेयर लगानीकर्ताहरू नै हुने गरेको छ । त्यसो त कतिपय अवस्थामा एक कम्पनीसँग मर्जर तोडिएसँगै अर्कोसँग तत्काल नै मर्जरमा जाने गरेको पनि नभएको होइन । यसले लगानीकर्ताहरू दोहोर मारमा पर्ने गरेका छन् । किनकि मर्जर प्रक्रिया लम्बिँदा र मर्जर प्रक्रिया असफल हुँदा सेयरधनी लगानीकर्ताहरू मारमा पर्दछन् ।
त्यसैले कम्पनीहरूले बिग मर्जरका बारेमा छलफल चलाउँदा औपचारिक सम्झौता नभएसम्म यसको सूचना गोप्य राख्नुपर्ने देखिन्छ । यसको हल्लाले सेयर बजारमा चलखेल हुने गरेको छ । यसैपनि सेयर बजारका कतिपय लगानीकर्ताहरू हल्लाको पछि लाग्ने गरेका नभएका होइनन् । हल्लाको फाइदा उठाई कतिपयले चलखेल पनि गर्ने गरेका पनि छन् । यस कारणले पनि सेयर बजारका लगानीकर्ताहरू आफैं सचेत जानकार र चनाखो हुनुपर्ने हुन्छ । हल्लाको पछि लाग्न हुँदैन ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्