RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/३० गते
८६७ पटक

काठमाडौँ — मंसिरका लागि निक्षेपमा वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम हुने भएको छ । अघिल्लो महिनामा सबै संस्थाको औसत ब्याजदरको १० प्रतिशतभन्दा बढाउन नपाउने राष्ट्र बैंकको निर्देशनपछि मंसिरका लागि उल्लिखित ब्याजदर कायम हुने भएको हो ।

प्रतिकात्मक तस्बिरकात्तिकमा सबै वाणिज्य बैंकको व्यक्तिगत निक्षेपको औसत ब्याजदर ९.१३ प्रतिशत रहेको बैंकर्स एसोसिएसनले जनाएको छ । मंसिरका लागि ब्याजदर बढाउन चाहने बैंकले ९.१३ प्रतिशतको १० प्रतिशत बिन्दुले मात्र वृद्धि गर्न पाउँछन् । बैंकहरूले अधिकतम सीमासम्म ब्याजदर बढाएको अवस्थामा निक्षेपको ब्याजदर १०.०५ प्रतिशतसम्म पुग्ने भएको हो । तर बैंकहरूलाई ब्याजदर बढाउनैपर्छ भन्ने नियामकीय बाध्यता छैन ।

केही महिनायता बजारमा तरलता अभाव छ । पछिल्ला सातामा तरलता संकट बढ्दै गएको छ । यसकारण पनि बैंकहरू निक्षेपमा अरुले भन्दा कम ब्याजदर दिने पक्षमा देखिँदैनन् । अरुले भन्दा कम ब्याज दिँदा आफ्नो निक्षेप पनि अरु बैंकमा जाने जोखिम रहन्छ । यसकारण पनि धेरै बैंकले नियामक निकायले दिएको सीमासम्मै ब्याजदर बढाउने तयारी गरेको बुझिएको छ । यसो हुँदा निक्षेपको अधिकतम ब्याजदर सबै बैंकको समान हुने सम्भावना पनि छ ।

राष्ट्र बैंकको यसअघिको निर्देशनअनुसार बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर र त्यही बैंकले साधारण निक्षेपमा प्रदान गर्ने ब्याजबीचको अन्तर ५ प्रतिशतभन्दा बढी राख्न पाइँदैन । अहिले केही बैंकले साधारण निक्षेपमा दुई/तीन प्रतिशतसम्म पनि ब्याजदर दिँदै आएका छन् । ती बैंकले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत बढाएर १०.०५ प्रतिशत पुर्‍याउँदा साधारण निक्षेपको ब्याजदर पनि ५.०५ प्रतिशतसम्म पुर्‍याउनुपर्नेछ । साधारण निक्षेपको ब्याजदर धेरैले बढाउँदा बैंकहरूको लागत बढ्नेछ । यसकारण पनि सबै बैंकले अधिकतम सीमासम्म ब्याजदर बढाउँछन् नै भन्न नसकिने बैंकहरू बताउँछन् । तर, अहिले तरलता संकट बढ्दै गएकाले निक्षेपमा कम ब्याजदर राख्नुको साटो साधारण र मुद्दती दुवै निक्षेपको ब्याजदर बढाउने तयारी भइरहेको सूचना कान्तिपुरलाई प्राप्त भएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजभन्दा संस्थागत निक्षेपमा दिने ब्याज एक प्रतिशत कम हुनुपर्नेछ । यसका आधारमा अब मंसिरमा संस्थागत मुद्दती निक्षेपमा बैंकहरूले अधिकतम ९.०५ प्रतिशत ब्याजदर तय गर्नेछन् । वाणिज्य बैंकहरूको साधारण (बचत) निक्षेपमा ब्याजदर अब कम्तीमा ५.०५ प्रतिशत पुग्नेछ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याजदर र साधारण निक्षेपमा दिने ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा धेरै राख्न पाइँदैन । यही निर्देशनका आधारमा मंसिरका लागि कायम हुने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०५ प्रतिशतबाट ५ प्रतिशत घटाएर साधारण निक्षेपको ब्याजदर निकालिएको बैंकर्स एसोसिएसनले जनाएको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्