RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
५४६ पटक

दसैं, तिहार, छठलगायत चाडपर्व रेमिट्यान्स भित्रिने मुख्य समय भए पनि यसवर्ष भने यही समयमा रेमिट्यान्स वृद्धिदर घटेको छ । रेमिट्यान्स आयको वृद्धिदर घटेसँगै विदेशी मुद्रा सञ्चितीमा दबाब कायमै छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले घटेर २ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ । गत आवको यसै अवधिसम्ममा रेमिट्यान्स १२.७ प्रतिशतले बढेर २ खर्ब ८५ अर्ब भित्रिएको थियो ।

चाडपर्वको समय भएकाले असोज—कात्तिकलाई रेमिट्यान्सको सिजनका रुपमा लिइन्छ । यस समयमा अन्य समयभन्दा बढी रेमिट्यान्स भित्रिने गर्छ । नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेल रेमिट्यान्सको वृद्धि नकारात्मक भए पनि चालु आवकै भदौको तुलनामा भने वृद्धि भएको बताउँछन् । “कोभिड महामारीलगायतको प्रभाव चालु आवदेखि नै रेमिट्यान्स नकारात्मक छ,” उनले भने, “तर चालु आवकै तुलना गर्दा भने भदौ महिनाको तुलनामा भने असोजमा वृद्धि भएको छ ।”

चालु आवको साउनमा ७५ अर्ब ९६ करोड, भदौमा ७९ अर्ब ४१ करोड र असोजमा ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कोभिड—१९ महामारी र लकडाउनले गर्दा विदेश जानेको संख्या घटेसँगै रेमिट्यान्समा नकारात्मक असर परेको पोखरेलले बताए । “एकातिर विदेश जानेको संख्या घटेको छ, अर्कोतिर विदेशमा रहेकाको पनि आम्दानी घटेको छ,” उनले भने, “विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएकाले अबका केहि महिनामा रेमिट्यान्स सकारात्मक हुनसक्छ ।”

यसैगरी लकडाउन खुलेसँगै विदेशबाट फर्किनेहरुले सुन, मोबाइललगायतमा खर्च गरेको र उच्च आयातका कारण रेमिट्यान्स अनौपचारिक काममा खर्च भएको हुनसक्ने उनले अनुमान गरे ।चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भई ६६ हजार ३१६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या समेत वृद्धि भई ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।
चालु आवको तीन महिनामा मूल्यवृद्धि पनि बढेको छ । २०७८ असोज महिनामा उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८-०७९ को तीन महिनामा १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोडको निर्यात र ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोडको आयात हुँदा वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८-०७९ को तीन महिनाको आयातलाई आधार विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

www.karobardaily.com

 

प्रतिकृया दिनुहोस्