RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१ गते
१६०६ पटक

आर्थिक वर्ष २०७७/०७८ मा सरकारको राजस्व संकलन ८२.८१ प्रतिशत भएको छ ।कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
प्रतिवेदनका अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१.१५ प्रतिशत रकम अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ को कुल खर्चमा नेपाल सरकारको श्रोतबाट ८२.३२ प्रतिशत तथा कुल खर्चको १७.६८ प्रतिशत बैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३.४ प्रतिशत र ऋणको हिस्सा १४.६४ प्रतिशत रहेको छ ।
आव २०७७/०७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख रुपैयाँ भुक्तानी भई चालु आव कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक रहेको छ ।
अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजश्व संकलन र बेरुजु फछ्यौटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताए । उनले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्यालले आव २०७७/०७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थमन्त्री शर्मालाई पेश गरेका थिए ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्