RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/३ गते
८७४ पटक

काठमाडौं । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका चार महिनाको अवधिमा नेपालमा झन्डै २४ अर्ब रुपैयाँको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्ममा विभिन्न ११० परियोजनामार्फत २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ११ करोड रुपैयाँ बढीले वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, यसरी वृद्धि भएको लगानी प्रतिबद्धता भने मुलुकको संघीय राजधानी काठमाडौं केन्द्रित हुँदै गएको देखिएको विभागले जनाएको छ ।

गत आवको सो अवधिमा नेपालमा १ सय परियोजनामार्फत १९ अर्ब ७० करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा यो वर्ष बढेर २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ पुगेको छ । यसरी, वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गर्दा लगानी भने संघीय राजधानी काठमाडौं केन्द्रित भएको देखिन्छ ।

धेरैजसो वैदेशिक लगानीकर्ताहरूले विभिन्न साना ठूला परियोजना काठमाडौंमै निर्माण गर्नेगरी विभागमा लगानी प्रतिबद्धता गरेको पाइएको छ । चालू आवको बितेका चार महिनाको अवधिमा काठमाडौंमै केन्द्रित रहेर ६३ उद्योगले १० अर्ब ३४ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जाहेर गरेका छन् ।

चालू आवको बितेका चार महिनामा आएको कुल वैदेशिक लगानीको ४३ प्रतिशत बढी लगानी काठमाडौंमै केन्द्रित रहेको विभागले जनाएको छ । पछिल्लो चार महिनामा काठमाडौंमा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा बढी प्रतिबद्धता भने पर्यटन क्षेत्रमा आएको छ । विभागको तथ्यांकअनुसार यस अवधिमा काठमाडौंमा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब ५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, सेवा क्षेत्रमा पनि यस अवधिमा २ अर्ब ५८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आउँदा ऊर्जामूलक क्षेत्रका उद्योगमा ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । पछिल्लो ४ महिनामा काठमाडौंमा उत्पादनमूलक र सूचना प्रविधि क्षेत्रमा क्रमशः ३५ करोड र ३० करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ ।

अझ गत आर्थिक वर्षमा काठमाडौं केन्द्रित लगानी प्रतिबद्धता झन्डै दोब्बर रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष काठमाडौं केन्द्रित वैदेशिक लगानी प्रतिबद्धतामा ६५ प्रतिशत कम प्रतिबद्धता आएको विभागको तथ्यांकमा छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौं केन्द्रित वैदेशिक लगानी १५ अर्ब ७३ करोड रुपैयाँबराबरको मात्र थियो ।

विभागका अनुसार चालू आवमा काठमाडौं जिल्लापछि दोस्रो धेरै वैदेशिक लगानी प्रतिबद्धता पाउने जिल्ला ललितपुर रहेको छ । चालू आवको वितेका चार महिनामा ललितपुर जिल्लाका लागि भन्दै ६ अर्ब ३० करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, पछिल्लो चार महिनामा भक्तपुर, बारा, धादिङलगायत गरी ११ जिल्लामा लगानीको प्रतिबद्धता आएको छ । यी सबै जिल्लामा आएको लगानी प्रतिबद्धतामार्फत ७ हजार २ सय ८१ जनाले प्रत्यक्ष रोजगारी पाउने सो प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

काठमाडौंमा मात्र १ खर्ब १४ अर्ब रुपैयाँ वैदेशिक लगानी
उद्योग विभागका अनुसार नेपालमा कानुनी रूपमा वैदेशिक लगानी भित्रिन थालेयता काठमाडौंमा मात्रै १ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो हालसम्म आएको कुल वैदेशिक लगानी प्रतिबद्धताको ३४ प्रतिशत हो । हालसम्म नेपालमा कुल ३ खर्ब ८५ अर्ब ९१ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

वैदेशिक लगानीकर्ताहरूले काठमाडौंमा खासगरी सेवा तथा पर्यटन क्षेत्रका उद्योगमा रुचि देखाउँदा यो लगानी अन्य जिल्लाको तुलनामा बढी देखिन्छ । विभागका अनुसार हालसम्म वैदेशिक लगानीकर्ताहरूले काठमाडौंमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको देखिन्छ । यो क्षेत्रमा विदेशी लगानीकर्ताहरूले ५५ अर्ब १४ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता जाहेर गरेका छन् ।

यसैगरी, काठमाडौंमै केन्द्रित रहेर विदेशी लगानीकर्ताहरूले सेवा क्षेत्रमा पनि सोहीअनुसारको लगानी प्रतिबद्धता जाहेर गर्ने गरेको देखिएको छ । काठमाडौंमा मात्रै सेवा क्षेत्रमा हालसम्म ४४ अर्ब १८ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, हालसम्म उत्पादनमूलक क्षेत्रमा पनि काठमाडौं केन्द्रित १० अर्ब ९६ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार हालसम्म धेरै वैदेशिक लगानी प्रतिबद्धता पाएका जिल्लाहरूमा ललितपुरमा ४० अर्ब रुपैयाँ, रसुवामा पनि ४० अर्ब र कालिकोट जिल्लामा ३३ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।

सबैभन्दा धेरै लगानी चीनबाट
चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा काठमाडौंले भिœयाएको कुल वैदेशिक लगानीमध्ये १० अर्ब ३४ करोड रुपैयाँको ९५ प्रतिशत लगानी प्रतिबद्धता छिमेकी मुलुक चीनको नै छ । उद्योग विभागका अनुसार चीनबाट सो अवधिमा काठमाडौंमा विभिन्न उद्योग परियोजना सञ्चालन गर्नेगरी ९ अर्ब ८८ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो । कुल ५४ परियोजनामार्फत आएको यस्तो परियोजनाले ३ हजार ६ सय १० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । यसैगरी, सो अवधिमा काठमाडौंमा अमेरिका, नेदरल्यान्ड जापान भियतनामलगायतका देशहरूबाट पनि राम्रो लगानीको प्रतिबद्धता आएको छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा काठमाडौंमा भित्रिएको कुल लगानी प्रतिबद्धताको ५८ प्रतिशत हिस्सा चीनले ओगटेको छ । नेपालमा वैदेशिक लगानी प्रतिबद्धता आएयताको तथ्यांकमा काठमाडौंमा मात्रै चीनले हालसम्म ७६ अर्ब ९२ करोड रुपैयाँ लगानी प्रतिबद्धता जाहेर गरेको छ । यसैगरी, काठमाडौंमै धेरै लगानी भिœयाउने अन्य देशहरूमा क्रमशः भारत, हंककंङ, बेलायत, सिंगापुरलगायतका देश रहेका छन् ।

विभागका अनुसार हालसम्म संसारभरका कुल ८२ वटा देशहरूले काठमाडौंमा लगानीको प्रतिबद्धता जाहेर गरेका छन् । यी लगानीहरूमध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्रमा नै देखिएको छ ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्