RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/६ गते
६४४ पटक

रोजगारीका लागि इजरायल जाने नेपाली युवालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ । हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका १ हजार १ सय ७५ श्रमिकमध्येबाट परीक्षण रिपोर्ट पास भएका श्रमिकलाई खोप व्यवस्थापन गर्न पत्राचार गरिएको हो ।

मन्त्रालयले हाल नेपालमा मान्यताप्राप्त ७ प्रकारका मध्ये कुनै पनि खोपको व्यवस्थापन गर्न अनुरोध गरेको छ । श्रम मन्त्रालयले मंसिर ३ गते स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा मोडेर्ना, फाइजर, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, कोभिसिल्ड, सिनोफार्म वा सिनोभ्याकमध्ये कुनै लगाउन सकिने उल्लेख छ ।

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीका लागि स्वास्थ्य परीक्षणपछि छनौटमा परेका १ हजार १ सय ७५ श्रमिकको स्वास्थ्य परीक्षणपछि खोपको व्यवस्थापन गर्नुपर्ने जनाउँदै आएको छ । विभागले खोप नलगाएका युवाका लागि सरकारले मान्यता दिएको कुनै पनि खोप लगाउन सकिने जनाएको छ ।

श्रम मन्त्रालयका एक कर्मचारीका अनुसार वैदेशिक रोजगार विभागद्वारा खोपको व्यवस्थापनमा सहजिकरण गर्न अनुरोधसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ । इजरायलले नेपालमा मान्यता पाएका जुनसुकै खोप लगाउन सक्ने जनाएपछि मन्त्रालयले खोपका सबै विकल्पसहित स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको हो ।

आइतबारसम्म अन्तिम छनोटमा परेका ५ सय भन्दा बढी युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम सम्पन्न भएको छ । यसैगरी बाँकी रहेका ६ सय ७५ जनाको भने आइतबारबाट स्वास्थ्य परीक्षणसहित प्रहरी प्रतिवेदनको काम भइरहेको विभागले जनाएको छ ।

विभागले स्वास्थ्य परीक्षण गरेका युवाको रिपोर्ट इजरायल पठाएपछि श्रमिक र रोजगारदाताबीच श्रम सम्झौताको काम हुने जनाएको छ । विभागले रोजगार सम्झौता भएका श्रमिकलाई क्रमशः अभिमुखिकरण, श्रम स्वीकृतिलगायत काम गर्ने गरी तयारी गरेको जनाएको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनौटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यताक्रम सूचीका १ हजार ६ सय जना उम्मेदवारमध्येबाट १ हजार १ सय ७५ रोजगारीका लागि योग्य भएका थिए ।

तिनीहरुको हाल उपत्यकाका विभिन्न ४ वटा अस्पतालमा स्वास्थ्य परीक्षणको काम भइरहेको छ । पिवाद्वारा सार्वजनिक गरिएको चिट्ठा प्रणाली (लट्री–रेन्डम सेलेक्सन) बाट छनौट भएका उम्मेदवारको अभिमुखिकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ ।

इजरयलले त्यहाँका दीर्घकालिन स्याहार केन्द्रमा रोजगारी दिने गरी पहिलो चरणमा नेपालबाट १ हजार युवा माग गर्ने जनाएपनि विभागले पठाएको नामावलीका आधार पिवाले थप १ सय ७५ को नामावली विभागमा पठाएको थियो । मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएको भन्दा थप १ सय ७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसका महिलाको ८ सय २१ र पुरुष ३ सय ५४ रहेका छन् ।

इजरायलले पठाएको नामावलीको आधारमा क्रमशः १ हजार १ सय ७५ जनालाई नै अभिमुखिकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको छ । विभागले इजरायलको पिवाबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ ।

विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमासहित १ लाख ६५ हजार ७ सय शुल्क लाग्ने विभागले जनाएको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्