RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१४ गते
५२४ पटक

अत्यधिक उत्परिवर्तन भएको कोरोना भाइरसको ओमिक्रोन प्रजाति विश्वव्यापी रूपमा फर्कन सक्ने तथा संक्रमणको जोखिम अत्यधिक रहेको विश्व स्वास्थ्य संगठनले सोमबार बताएको छ। संगठनले विश्वका केही स्थानमा यसले ‘गंभीर परिणाम’ ल्याउन सक्ने चेतावनी दिएको छ।

ओमिक्रोनका कारण हालसम्म कुनै मृत्यु सार्वजनिक भएको छैन तर भ्याक्सिन तथा प्राकृतिक संक्रमणका कारण शरीरमा विकास भएको प्रतिरक्षालाई यसले कस्तो प्रभाव प्रभाव पार्छ भन्नेमा थप अध्ययन आवश्यक रहेको संगठनको भनाइ छ।

गत साता मात्र दक्षिण अफ्रिकामा देखिएको यो भाइरसको विश्वव्यापी प्रसारण हुन सक्ने बताउदै संगठनले आफ्ना १९४ सदस्य राष्ट्रलाई खोप अभियानलाई तीव्रता दिन र स्वास्थ्य सेवा प्रणालीलाई चुस्त राख्न अनुरोध गरेको छ।

‘ओमिक्रोनको स्पाइक प्रोटिनमा अत्यधिक संख्यामा उत्परिवर्तन(म्युटेसन) यसले महामारीलाई पार्ने संभावित प्रभाव चिन्ताको विषय बनेको छ र यो भेरियन्टको विश्वव्यापी जोखीम अत्यधिक देखिएकोछ,’ संगठनले भनेको छ।

विश्व स्वास्थ्य संगठनका महा निर्देशक टेड्रोस अथानोम घेब्रेससले नयाँ भेरियन्टको उत्पतिले महामारीको हिसाबले विश्वको अवस्था कति खतरनाक र अनिश्चित छ भन्ने प्रष्ट भएको बताएका छन्। ‘ओमिक्रोनले अकस्मात विकासले महामारी रोकथाम गर्न विश्वलाई नयाँ सहमति आवश्यक छ भन्ने कुरालाई प्रमाणित गरेकोछ,’ उनले भने।

गत बुधबार दक्षिण अफि«कामा ओमिक्रोन पहिलो पटक देखिएको तथ्य सार्वजनिक भएको थियो। पछिल्ला केही दिनमा यो भाइरस एक दर्जन देशमा फैलिसकेकोछ। विश्वका विभिन्न देशले भाइरसको प्रसारण रोक्न निगरानीको विभिन्न व्यवश्था कार्यन्वयनमा ल्याइसकेका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको केसको वृद्धिले रोगी र मृत्यु दर बढ्ने बताएको छ। ‘खोपको पर्याप्त पहुँच नभएका राष्ट्रमा यसको अत्यधिक प्रभाव हुनेछ,’ संगठनले भनेकोछ। (रोयटर्स)

प्रतिकृया दिनुहोस्