
जुम्लामा कुनै बेला उपचारका लागि मात्र नभई मृत्यु भइसकेको सवको पोस्टमार्टमका लागि पनि डाक्टर कुर्नु पथ्र्यो भने कयांैले सिटामोल अभावमा मृत्युवरण पनि गरे । न राम्रो अस्पताल, न डाक्टर न उपकरण कर्णालीमा स्वास्थ्यको समस्या सधैं चुनौतीको विषय बनिरह्यो । जसका कारण कर्णालीले रोग, भोक र शोकको उपनाम पाइरह्यो । तर त्यही कर्णालीमा अहिले विशेषज्ञ डाक्टर उत्पादन गर्ने एमबीबीएस पढाइ सुरु भएको छ ।
कर्णाली रोग, भोक र शोकमै सीमित नरहेको भ्रमलाई चिर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो संघर्ष र प्रयासपछि एमबीबीएस पढाइ सुरु गरेको हो । बहुप्रतीक्षित एमबीबीएस कार्यक्रम सुरु भएसँंगै जुम्ला स्वास्थ्यका हबका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।
कर्णाली प्रतिष्ठानमा आइतबारदेखि एमबीबीएस पढाइ सुरु भए पनि औपचारिक उद्घाटन मंसिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार मंसिर २६ गते राष्ट्रपतिसंँगै स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीलगायत मेडिकल काउन्सिलको टिम एमबीबीएस उद्घाटनका लागि जुम्ला आइपुग्नेछन् ।
कर्णालीमा यातायात, विद्युत, सञ्चारलगायतका पूर्वाधारको मजबुद विकास नभएकै कारण एमबीबीएस सञ्चालनमा ढिलाइ भए पनि कुनै समय डाक्टर खोजीखोजी उपचार गर्न मुस्किल हुने कर्णालीमा अब डाक्टर रोजीरोजी उपचार हुने उपकुपति रावलको भनाइ छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएसमा २० सिटसँंगै बीएमएसमा २० सिट, बीपीएचमा २० सिट, बी फार्मेसीमा २० सिटको पढाइ सुरु भएको रजिस्ट्रार नृपेन्द्र महतले बताए ।
२०६८ सालमा जुम्लाको खलंगामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय पश्चिम नेपालकै भरोसाका रूपमा स्वास्थ्यमा योगदान दिंँदै आएको छ ।
२०७३ सालबाट एमबीबीएस अध्ययन अनुमतिका लागि प्रयास गरेको प्रतिष्ठानले गत फागुनमा एमबीबीएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो भने, करिब १० महिनाको कसरतपछि एबीबीएस सञ्चलान भएको हो । एमबीबीएसएस सञ्चालनका लागि प्रतिष्ठानसँग तीन सय बेडको आफ्नै अस्पताल, ल्याब, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन, प्रध्यापक, आवास गृह छन् भने नयाँ आवास गृह पनि निर्माण हुँदैछ ।
साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल नौवटा कार्यक्रम सञ्चालन हुँदै आएकोमा अब एमबीबीएसको पढाइ पनि सुरु हुने भएपछि केही वर्षमा प्रतिष्ठानले काचुली फेर्ने बताउँछन् प्राध्यापक डाक्टर दिनेश बास्तोला ।
अब कर्णालीमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने छैन । गुणस्तरीय स्वास्थ्य अधिकारको सुनिश्चितता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने भएको छ । पूर्वी महोत्तरीका सुनिलकुमार मण्डलले जुम्लामा आएर एमबीबीएस पढ्न पाउँदा सारै खुसी लागेको बताए । कर्णालीजस्तो हावापानी मिलेको ठाउँ भएकाले पनि एमबीबीएस पढाइका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रोजेको सिन्धुलिकी अपेक्षा पराजुली बताउँछिन् ।
www.karobardaily.com