RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२३ गते
६६४ पटक

नेकपा (माओवादी केन्द्र)ले प्रदेश पदाधिकारी र प्रदेश कमिटीको सदस्य संख्या बढाउने भएको छ। माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। महराका अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ गरी प्रदेश पदाधिकारीको संख्या ९ बनाउने निर्णय भएको हो।

प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णयअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ जनाको कमिटी हुने महराले जानकारी दिए। बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए। प्रवक्ता महराले भने,  ‘केन्द्रीय सदस्यहरु स्वेच्छाले कोही तल प्रदेशमा जान चाहान्छन् भने उनको इच्छाको कुरा भयो। तर, सकेसम्म हाम्रोतर्फबाट केन्द्रीय सदस्यहरु तल जानको लागि बल नगर्ने।’

बैठकले माओवादी प्रवेश गर्नेहरुको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ भने महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अन्य सदस्यहरुलाई पछि थप्ने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए।

www.nayapatrikadaily.com

प्रतिकृया दिनुहोस्