
जुम्ला : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको आइतबार शुभारम्भ गरेकी छन्।
‘राष्ट्रपति भण्डारीले प्रतिष्ठानको एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतको पहिलो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नु भएको छ,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ’त्यसपछि ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नु भएको छ।’
शैक्षिक कार्यक्रम शुभारम्भमा कर्णाली प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, विज्ञ सल्लाहकार डा.रमेश ढकाल र डा.गुणराज लोहनी लगायतको सहभागिता थियो।
०६८ सालमा स्थापना भएको प्रतिष्ठानले ०७३ सालमा एमबिबिएस अध्यापन अनुमतिका लागि प्रयास गरेको भएपनि गत फागुनमा २० सिट पाएको गरेको थियो।
हाल ९ वटा कार्यक्रम सञ्चालन भइरहेको प्रतिष्ठानमा यस वर्षदेखि एमबिबिएसको पनि अध्यापन सुरु भएको छ।चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा एमबिबिएस अध्यापनका लागि २० जनको कोटा छुट्याएकोमा १९ जनाले भर्ना गरेका छन्।