RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/२७ गते
६७३ पटक

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिना बित्नै लाग्दा समेत पुँजीगत खर्चले गति लिन सकेको छैन । बैंकहरुसँग तरलता अभावले कर्जा प्रवाह गर्न समेत नसकिरहेको अवस्थामा सरकारले भने लक्ष्यको ६.१३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शनिबारसम्ममा २६ अर्ब ९५ करोड रुपैयाँ मात्र खर्च गरेको हो । सरकारले यस वर्ष ४ खर्ब ३९ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना दश प्रतिशतका दरले खर्च गर्ने बताउँदै आए पनि सो सम्भव नहुने तथ्यांकले देखाएको छ । सरकारले राखेको लक्ष्य अनुसार खर्च भएको भए पाँच महिनामा ३० प्रतिशत पुँजीगत बजेट खर्च भइसक्नु पर्ने थियो ।

तर प्रतिस्थापन विधेयक, कार्ययोजना र कार्यविधिहरू समयमा बनेर पास नहुँदा पुँजीगत खर्चमा कमी आएको स्वयं अर्थमन्त्रीले बताउन थालेका छन् ।

उता चालु खर्चको अवस्था हेर्ने हो भने सरकारले लक्ष्यको ३० प्रतिशत रकम अहिले नै खर्च गरिसकेको छ । सरकारले शनिबारसम्ममा ३ खर्ब १ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु वर्षमा सरकारले १० खर्ब ३ अर्ब रुपैयाँ चालु बजेट विनियोजन गरेको छ । अर्थ समितिको एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले वित्तीय हस्तान्तरणमा जाने रकम समेत चालु खर्चमै समावेश गरिएकाले सबै चालु खर्च अनुत्पादक क्षेत्रमा मात्र नगएको बताएका थिए ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ हेर्ने हो भने सरकारले लक्ष्यको २१.०८ प्रतिशत खर्च गरेको छ । १ खर्ब ८९ अर्ब रुपैयाँको लक्ष्य राखिएको वित्तीय व्यवस्थामा सरकारले शनिबारसम्ममा ४१ अर्ब रुपैयाँ खर्च गरेको हो । समग्रमा सरकारले २२.६६ प्रतिशत अर्थात् ३ खर्ब ७० अर्ब रुपैयाँ खर्च गरेको छ ।

राजस्व परिचालनतर्फ भने सरकारले ३३.६६ प्रतिशत राजस्व संकलन गरिसकेको महालेखाले जनाएको छ । महालेखाका अनुसार शनिबारसम्ममा ३ खर्ब ६५ अर्ब कर राजस्व तथा ३२ खर्ब गैरकर राजस्व गरेर ३ खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । तर, सरकारले हालसम्म कुनै पनि आन्तरिक ऋण भने उठाएको छैन ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्