
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४५ सय मत खसेको छ । देशका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था र विदेशस्थित जनसम्पर्क समितिबाट कुल ४७ सय ४३ जना १४औं महाधिवेशनका लागि मतदाता रहेकोमा ४५ सय मत खसेको हो ।
सभापतिको मतगणना राष्ट्रिय सभामा गृहमा नै गरिएको छ । अन्य पदमा खसेको मत पेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको छ ।एक सभापति पदमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना प्रतिस्पर्धामा छन् ।
कांग्रेसले देश तथा विदेशबाट आएका प्रतिनिधिलाई तीन मतदान स्थलमा गरी ११ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाएको थियो । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ–शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदानको व्यवस्था गरिएको थियो ।
यस्तै, भृकुटीमण्डप मैदानमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको थियो भने भृकुटीमण्डपको हलमा प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका मतदाताले मतदान गर्ने गरी व्यवस्था मिलाइएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ ।