RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१ गते
३५२ पटक

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार उच्च दरमा वृद्धि भएको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले औंल्याएको छ ।
अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७-०७८ को असारसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३५.९१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिसम्ममा बैंकहरुको निक्षेप ३३.८४ प्रतिशतले बढेर ४२ अर्ब १० करोड २६ लाख पुगेको थियो ।
कर्णालीमा रेमिट्यान्स आप्रवाह वृद्धिसँगै बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि वृद्धि भएको छ ।
यसैगरी अघिल्लो आवको तुलनामा कर्णाली प्रदेशमा आव आर्थिक वर्ष २०७७-०७८ कर्जा प्रवाह ४१.२२ प्रतिशतले बढेर ५१ अर्ब ३३ करोड १८ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह २२.२४ प्रतिशतले बढेर ३६ अर्ब ३४ करोड ९२ लाख पुगेको थियो ।
कोभिड–१९ को महामारी कम भएसँगै अर्थतन्त्र चलायमान हुँदै गएपछि कर्जा विस्तार भएको अध्ययनले औंल्याएको छ । यसबाहेक सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा सुविधा तथा मौद्रिक नीतिले प्रदान गरेका अन्य विभिन्न छुट तथा सुविधाहरुले पनि कर्जा विस्तार गर्न मद्दत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
२०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा ४७.८४ प्रतिशतले बढेर ३ खर्ब ९२ अर्ब ६३ करोड पुगेको छ । यसैगरी विपन्न वर्ग कर्जा ९९.४१ प्रतिशतले वृद्धि भई ८ अर्ब ४४ करोड ७७ लाख पुगेको छ ।
गत आवसम्ममा कर्णालीमा २ अर्ब २१ करोड ३१ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८५.७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७÷०७८ मा कर्णाली प्रदेशका प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह भएको कर्जा ११८ प्रतिशतले वृद्धि भई ९ अर्ब ५९ करोड १६ लाख पुगेको छ । त्यसैगरी, २०७८ असार मसान्तसम्म कर्णालीमा १ अर्ब ९७ करोड २८ लाख पुनरकर्जा प्रवाह भएको छ ।
हाल कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४ सय १२ शाखाहरुले वित्तीय सेवा दिँदै आएका छन् । त्यसमध्ये वाणिज्य बैंकका १ सय ९२, विकास बैंकका १७, वित्त कम्पनीका तीन र लघुवित्त वित्तीय संस्थाका २ सय शाखा सञ्चालनमा छन् । यसबाट १३ लाख ११ हजार सय ६१५ निक्षेपकर्ता र ४२ हजार ९ सय ९८ ऋणीलाई सेवा दिएका छन् ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्