RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/३ गते
३८४ पटक

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको छ ।

हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्