RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/८ गते
५०६ पटक

काठमाडौँ — निजी वायु सेवा कम्पनीहरूले आन्तरिक उडानतर्फको बजार हिस्सा क्रमशः बढाउँदै लगेका बेला सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को भने खुम्चिँदै गएको छ ।

हाल निगमले ३७ वर्ष पुराना दुई वटा टुइनअटरबाट १७ स्थानमा उडान गर्दै आएको छ । गन्तव्य संख्याका आधारमा निगमको आन्तरिक उडानमा बजार हिस्सा २ अंकको हुनुपर्ने हो, तर २ प्रतिशतमा खुम्चिएको छ । बाँकी ९८ प्रतिशत हिस्सा निजी क्षेत्रका वायु सेवाले ओगटेका छन् ।

आन्तरिक उडानमा सबैभन्दा धेरै १५ जहाजले १५ गन्तव्य (३३ फ्लाइट रुट) मा उडान गर्दै आइरहेको निजी वायु सेवा कम्पनी बुद्ध एयरको दाँजोमा निगमसँग गन्तव्य बढी देखिन्छ । तर, बुद्ध ९ वटा वायु सेवा कम्पनीमध्ये करिब ६० प्रतिशत बजार हिस्सा ओगट्दै पहिलो स्थानमा छ । यसले दैनिक ७ हजार बढी यात्रुलाई सेवा दिइरहेको छ भने निगमले २ सय हाराहारी यात्रु उडाएर चित्त बुझाइरहेको छ ।

निगमले हाल १९ सिटे २ वटा टुइनअटरबाट काठमाडौंबाट ताप्लेजुङ, भोजपुर, थामखर्क, लुक्ला, खानीडाँडा, फाप्लु, दाङ तथा पश्चिममा नेपालगन्जबाट बाजुरा, सिमकोट, जुम्ला, रुकुम, ताल्चा, बझाङ, साँफेबगर र डोटीसम्म उडान गर्दै आइरहेको छ । निगमको आन्तरिक उडानतर्फका एक अधिकारीका अनुसार यी गन्तव्यमा सातामा २–५ वटासम्म मात्रै उडान भइरहेका छन् ।

जहाज अभावमा निगमले काठमाडौंबाट सुगम रुटका लागि गर्ने उडान करिब ठप्पजस्तै भएको छ । काठमाडौंबाट दैनिक हुने ३ सय हाराहारी आन्तरिक उडानमा निगमले दैनिक अधिकतम १६ उडान गर्दै २ सय २० यात्रु उडाइरहेको छ । आन्तरिक उडानमा जहाजको संख्या कम भएका कारण बजार उपस्थिति न्यून हुन गएको भन्दै निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग १८ वटा जहाज मागेको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्