RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१९ गते
३९२ पटक

अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको ‘समाजवादउन्मुख समृद्धि’को कार्यदिशा तय गरेको छ । नेतृत्व चयनमा माओवादी आन्तरिक निर्वाचनमा प्रवेश नै गरेन । विधानमा सहमति हुन नसके निर्वाचन पद्धति अंगीकार गर्ने उल्लेख छ । ११ पुसदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनले आठौँ दिन केन्द्रीय नेतृत्व टुंग्याएको हो ।

तर, विधानअनुसार महाधिवेशनको बन्दसत्र हलबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्नेमा दुई सय ३७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ । अर्थात् हलले पूर्ण केन्द्रीय कमिटी बनाउन सकेन ।केन्द्रीय कमिटी चयनमा माओवादी केन्द्रले प्रणाली र विधि दुवै मिश्रित अपनाएको छ । माओवादी केन्द्रले पार्टीको विधानमा केन्द्रीय कमिटीमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरेको छ । यसैअनुसार केन्द्रीय सदस्य चयन गर्दा क्लस्टर मिलाउन कठिन भएपछि ६२ पद रिक्त राखिएको छ । केन्द्रीय कमिटीले गर्ने १५ र अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्नेछन् ।

आइतबार प्रचण्डले महाधिवेशन आयोजक कमिटीका तर्फबाट दुई सय ३७ सदस्यीय केन्द्रीय सदस्यको सूची पेस गरेका थिए, जसलाई हलले अनुमोदन गरेको थियो । केन्द्रीय कमिटी सूची हलमा प्रस्तुत गर्दा प्रचण्डले कतिपय क्लस्टरमा राख्ने नेता नहुँदा अहिलेलाई खाली राख्नुपर्ने बाध्यता रहेको बताएका थिए । ‘संविधान र ऐनले समावेशी बनाउनैपर्ने भनेको छ । त्यो हामीले नै बनाएको संविधान हो । तर, कतिपय क्लस्टरमा राख्ने मान्छे नहुँदा अहिलेलाई खाली नै राखेर पछि पदपूर्ति गर्नुपर्ने भएको छ,’ प्रचण्डले बन्दसत्रलाई सम्बोधन गर्दै भनेका थिए ।

नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा क्लस्टरमध्ये खस–आर्य ४८, दलित १६, मुस्लिम दुई, मधेसी सात, आदिवासी ४१, थारू नौ र पिछडिएको क्षेत्रबाट दुईजना गरी कुल एक सय २५ जना समानुपातिक र एक सय १२ खुलाबाट चयन भएका छन् । नयाँ विधानअनुसार केन्द्रीय समिति दुई सय ९९ हुँदा खुलातर्फ एक सय ४५ र समानुपातिकतर्फ एक सय ५४ जना आउने व्यवस्था छ । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुँदा समानुपातिकतर्फबाट २९ र खुलातर्फ ३३ केन्द्रीय सदस्य हलबाट चयन हुन सकेनन् ।

अर्कोतर्फ विधानअनुसार पदाधिकारी चयन केन्द्रीय कमिटीबाट हुनेछ । केन्द्रीय कमिटीको पहिलो बैठक सोमबारका लागि आह्वान भइसकेको छ । आइतबार नै पदाधिकारीको समेत टुंगो लगाएर हलबाट अनुमोदन गराउने प्रयास असफल भएको थियो । पदाधिकारीमा आकांक्षीको संख्या धेरै छ । पछिल्लोपटक विधानमा केन्द्रीय कमिटीले आवश्यकताअनुसार पदाधिकारी थपघट गर्न सक्ने व्यवस्था राखिएको छ ।

समावेशीका लागि बनाइएका क्लस्टरअनुसार केन्द्रीय समितिमा पर्नेको सूची बनाउन माओवादी केन्द्र चुकेको छ । विधानको क्लस्टरअनुसार नभई केन्द्रीय सदस्यको संख्या तलमाथि छ । समानुपातिकतर्फ क्लस्टरको संरचनाअनुसार माओवादीको केन्द्रीय कमिटीमा खस–आर्यतर्फ– ४५ जनामध्ये पुरुष– १२, पुरुष युवा– तीन, महिला– २४ र महिला युवा– ६ जना, दलिततर्फ– २२ मध्ये पुरुष– ६, पुरुष युवा– एक, महिला– १२ र महिला युवा– तीन तथा मुस्लिमतर्फ– सातमध्ये पुरुष– एक, पुरुष युवा– एक, महिला– चार र महिला युवा– एकजना रहने व्यवस्था छ ।

नयाँ पत्रिका दैनिकबाट………….

प्रतिकृया दिनुहोस्