RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२१ गते
३९८ पटक

पुस २१ ।एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पार्नु भयो ।

संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनु भयो ।

अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नु भयो ।

अध्यक्ष ओलीले ग्रयाभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दावी गर्नु भयो ।

उहाँले अष्टवक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेको पनि भन्नु भयो । अध्यक्ष ओलीले थप्नु भयो, ‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना हुँदैन । हाम्रो सभ्यतासँग, सभ्यताको सृष्टि यहाँ भएको थियो ।

यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरु प्रमिथस भएर निस्के । लक्ष्मीप्रसाद देवकोटाले एउटा प्रमिथस भन्ने महाकाव्य छ नि ।

न्यूटनले ग्रयाभिटेशनको थेउरी पत्ता लगाए । भास्कर आचार्यको कुरै छैन । यी विद्धानहरुको त कुरै छैन । फष्ट फिलोसफर को थिए ? भन्दाखेरी शुकरात । शुकरातभन्दा हजारौैं वर्ष अगाडि अष्टवक्रजस्ता फिलोसफरहरुको कुरै छैन ।

ध्यान भूमि हो । तपो भूमि हो । त्यसकारण ज्ञान भूमि हो । त्यो ज्ञान, त्यो तपको सृजना, ती अभ्यासहरुको सृजना, तीनको समष्टिलाई हामी हाम्रो सभ्यता, हाम्रो इतिहास, संस्कृति भन्छौं । त्यसलाई जोगाउनु पर्छ ।

मेरो आफ्नो ठाउँबाट तपाईहरुको अभ्यासलाई साथ छ ।’ अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताउनु भयो । उहाँले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्