
भौगोलिक रूपमा विकट ठाउँमा सुरुङमार्ग निर्माण दिगो र आवश्यक पूर्वाधार मानिन्छ । अन्तरजिल्ला जोड्ने सडक निर्माणमा राज्यले लगानी गरे पनि सडक दिगो नहुने भत्किने समस्या उत्तिकै छ । ठूलो लगानी गरेर हिमाली पहाडी जिल्लाका पहाड छिचोलेर सुरुङमार्ग निर्माण गर्न सके पूर्वाधार क्षेत्रको दिगो विकास सम्भव छ ।
यद्यपि, नेपालको पुँजी अभावले हालसम्म अन्तरजिल्ला जोड्ने सुरुङमार्ग निर्माण हुने सकेका छैनन् ।तर संघीय सरकारको लगानीमा विकट जुम्ला–जाजरकोट जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । सुरुङमार्ग निर्माणलाई अघि बढाउन सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडीसी)ले सूचना जारी गरेको छ ।
सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले टेन्डर खोलिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए ।
“सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।” यो सुरुङमार्ग कर्णालीमै पहिलो पनि हुनेछ । अध्यक्ष न्यौपानेले भने, “जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो मार्ग सुरुङ नै हुनेछ ।
जुम्लाको इमिल्चाघारीदेखि जाजरकोट साङ्टासम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गरिने छ ।”
सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएको भए पनि बल्ल सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरेको अध्यक्ष न्यौपानेको भनाइ छ । सुरुङमार्ग निर्माणले दुवै जिल्लाका आर्थिक गतिविधि पनि बढ्ने उनको अपेक्षा छ ।
जुम्लादेखि जाजरकोट हिँडेर जान करिब एकदिन लाग्ने छ भने इमिच्छादेखि ८–१० घण्टा उकालो हिँड्नुपर्छ । तर सुरुङमार्ग निर्माण पश्चात २४ घण्टा लाग्ने जुम्लादेखि जाजरकोट ३० मिनेटमै पुग्न सकिने छ । यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ भने सुरुङमार्गले जुम्ला जाजरकोटको व्यापारी गतिविधिलाई पनि सहज बनाउने छ ।
कारोबार दैनिकबाट साभार गरिएको छ