RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२२ गते
३४५ पटक

सन् २०२१ मा आन्तरिक हवाई यात्रुको संख्या बढेको छ । आन्तरिक उडानमा यात्रु संख्या बढेर ३५ लाख पुगेको हो । यो संख्या सन् २०२० को तुलनामा करिब साढे २० लाखले बढी हो भने सन् २०१५ यताकै उच्च हो ।

सन् २०१५ मा १३ लाख ६० हजार, २०१६ मा १७ लाख ५७ हजार, २०१७ मा २४ लाख ५१ हजार, २०१८ मा १५ लाख १७ हजार, २०१९ मा ३१ लाख ८८ हजार र सन् २०२० मा १४ लाख ५७ हजार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमस्थलको आन्तरिक टर्मिनलबाट उडान तथा अवतरण गरेका थिए ।

सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा भने १४ लाख ८२ हजार ३ सय ५ जना यात्रुले सेवा लिएका छन् । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा वायुयान तथा उडानमा भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रुको संख्यामा कमी आएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिड–१९ पछि हवाई यात्रा बढी सुरक्षित र सहज भएकाले धेरै यात्रुले यात्रा गरेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले बताए । उनले भने, “विमानको संख्यामा वृद्धि भएर वायुयान कम्पनीबीच प्रतिस्पर्धा बढेपछि सिट क्षमता बढ्यो । भाडा पनि घटेका कारण यात्रु बढेका हुन्,” उनले भने ।

धेरै विमानस्थलमा रात्रीकालिन उडान तथा अवतरण हुने भएकाले गर्दा पनि उपत्यकामा काम विशेषले बिहान अवतरण गरेर साँझ फिर्ता हुने सहज वातावरण बनेका कारण पनि हवाई यात्रुको संख्यामा वृद्धि भएको निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता

योगराज कँडेलले बताए । “कोभिड–१९ पछि लामो भन्दा छोटा यात्रा सुरक्षित भएकाले र विभिन्न राजनीतिक दलका महाधिवेशनले पनि उडान तथा यात्रु वृद्धि भए,” कँडेलले भने ।

नयाँ विमान कम्पनी थपिनु, सडक यात्रामा कोभिडको जोखिम बढी हुनु र सडक मार्ग बिग्रनुले पनि पछिल्लो समय हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यतीका प्रवक्ता बर्ताैलाको भनाइ छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्