RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२३ गते
३९७ पटक

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच १२ हजार युवालाई सहुलियत ऋण दिने विषयमा द्विपक्षीय समझदारी भएको छ ।

कोष र परिषद्बीच रोजगार तथा स्वरोजगारी सृजना गर्ने लक्ष्यसहित प्रतिपरियोजना दुई लाखदेखि १० लाख रुपैयाँसम्म दिने गरी बिहीबार सम्झौता भएको हो । समझदारीपत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाको सहकार्यमा श्रम बजारको मागमा आधारित लामो तथा छोटो अवधिका सीपयुक्त जनशक्ति तयार गरी उद्यमशिलता विकास, उद्यम स्थापना गर्ने लक्ष्यसहित बीउ पुँजी दिने भएको परिषद्का निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए ।

पुँजीको अभावमा उद्यम गर्न नपाएका युवाको पहिचान गरी उद्यम सञ्चालनका लागि बीउ पुँजी उपलब्ध गराउने, सीपयुक्त युवालाई स्वरोजगार तथा रोजगारीका लागि आवश्यक समन्वय, संयोजन एवं सहजीकरण गरिने सम्झौतामा उल्लेख छ ।

युवा तथा साना व्यावसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले विगत एक दशकदेखि उद्यमी युवालाई स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालनका लागि वित्तीय सहयोग गर्दै आएको बताउँदै सहयोग उपलब्ध गराउने जानकारी दिए ।

यसैगरी परिषद्का सदस्य सचिव काफ्लेले प्राविधिक तथा व्यावसायिक शिक्षा तालिमको क्षेत्रमा विभिन्न पेशा व्यवसायमा युवा लक्षित छोटो तथा लामो अवधिको सीपमूलक तालिम सञ्चालन गर्दै स्वरोजगार तथा रोजगार स्थापना गर्न सहकार्य गरिएको बताए ।
समझदारी कार्यान्वयनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले उद्योगी, व्यवसायी एवं रोजगारदाताकोसहभागितामा पहिचान भई आएका पेशा तथा व्यवसायको पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, पहिचान भएका व्यवसायमा उपलब्ध स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै अभिमुखीकरण, सीप विकास र क्षमता

अभिवृद्धिजस्ता विभिन्न विधामा तालिम सञ्चालन गर्नेछ । यसैगरी कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने, परिषद्मार्फत प्राविधिक शिक्षा एवं सीपमूलक तालिम लिएका युवालाई तालिमको प्रमाणपत्र र निजको व्यावसायिक योजनाको आधारमा कोषको नियमानुसार कर्जा उपलब्ध गराउने छ ।

उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थासँग समन्वय, सहकार्य र सहजीकरण गर्ने जनाइएको छ ।

युवाको व्यावसायिक योजनाको आधारमा कोषको नियमानुसार कर्जा उपलब्ध गराउने, उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थाहरूसँग समन्वय, सहकार्य र सहजीकरण गर्ने, देशभर रहेका साझेदार संगठन वा

संस्थाहरूलाई स्वरोजगार बनाउन आवश्यक अभिमुखीकरण, सीप विकास र क्षमता विकाससम्बन्धी तालिमहरू प्रदान गर्न प्रोत्साहित गर्ने, कोषको नियमअनुसार उपलब्ध हुने ब्याज अनुदानको व्यवस्था गर्ने कर्जा लगानी गरेका व्यवसायी तथा व्यवसायको बीमा गर्ने तथा बीमा गर्दा लाग्ने प्रिमियम खर्चको व्यवस्था गर्ने जनाइएको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्