
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताउनु भएको छ ।
पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताउनु भएको हो ।
उहाँले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभएपनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताउनु भयो । अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताउनु भयो ।
त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले हाम्रो अगाडि राष्ट्रियसभाको निर्वाचन आईरहेको छ । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते सम्पन्न हुन्छ ।
र, त्यसको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ । किन प्रतिकूल आउन सक्छ भने त्यो आजको जनमत होइन । र त्यो कुनै यथार्थ जनमत होइन । हामीले हिजो साँढे चार वर्ष अगाडि जनताबाट जुन जनमत ल्याएका थियौं ।
व्यवस्थापनको नाममा विभिन्न व्यक्तिहरुलाई विभिन्न प्रवृति भनेर अहिले जनता मतदाता हुने होईन । पहिलेनै निर्वाचित जनप्रतिनिधिबाट, जसलाई कम्युनिष्ट आन्दोलनबाटै सखाप पर्ने, विगार्ने, भत्काउने काम गरे ।
यस्तो अवस्थामा अहिलेको राष्ट्रियसभा निर्वाचन त्यो हिजोको जनप्रतिनिधिहरु त्यहाँबाट निर्वाचित हुने हो । जसलाई सकेसम्म ध्वस्त पार्न खोजिएको थियो । तर त्यस्तो ध्वस्त हुने स्थिति होईन । तर परिणाम त यदि हाम्रो ५१ छ भने हामी जित्थ्यांै ।
२ जना मान्छे तलमाथि पारिदिँदा हाम्रो ४९ मा झर्छ । विपक्ष गठबन्धन भन्ने अहिले जुन छ, यो अपवित्र गठबन्धन, यो प्रतिगामी गठबन्धन, यसको ४९ बाट ५१ हुन सक्छ । ४८ बाट ५२ हुन सक्छ । ४५ बाट ५५ हुन सक्छ । तर अहिले पनि हामी अरु पार्टी भन्दा मजदुत छौं । एक्लै अरुभन्दा माथि छौं ।
तर यसमा जुन ५० परसेन्ट चाहिने अवस्था हो । सम्पूर्ण शक्तिहरु मिलेर यतिबेला हिजोको जनमत र हिजोको परिस्थितिको दूरुपयोग गरेर अहिले हाम्रा निम्ति अलि प्रतिकूल परिणाम यस राष्ट्रिय सभाको निर्वाचनबाट आउन सक्छ ।
म साथीहरुलाई भन्न चाहन्छु–र जनसमूदायलाई पनि स्पष्ट पार्न चाहन्छु–यो आजको जनादेश होईन । आजको जनमत होईन, आजको यथार्थ होइन ।
हिजोको बेग्लै परिस्थितिको दूरुपयोग गरेर पैदा गरिएको अवस्था हो । त्यसकारण यसमा हाम्रो अलिकति सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कुनै अवस्था छैन । यो हिजोको कुरा हो ।