
काठमाडौँ — सिभिल अस्पताल हाताभित्र एक निर्माणाधीन भवनमा मजदुरी गर्दै भेटिएका रामेछापका ५६ वर्षीय भुवन मगरले अझैसम्म कोभिड विरुद्धको खोप लगाएका छैनन् । मगरले आफू काम गरिरहेकै ठाउँमा कोभिडको खोप लगाइन्छ भनेर थाहा नभएको बताए ।
विगत ५ महिनादेखि सोही अस्पताल परिसरमा काम गर्दैआएका उनी भन्छन्, ‘फुर्सत नै भएन लगाउन । लगाउनुपर्छ भनेको त सुनेको हो । यहीँ नै लगाउँछन् भनेर थाहा पनि भएन । धेरै लाइन बस्न पर्छ होला है ? अब लगाउनुपर्ला ।’
तनहुँका ६२ वर्षीय कृष्णप्रसाद ओझा आफूले कोभिड खोप नलगाउने भन्नेमा अडिग छन् । पूर्वशिक्षक समेत रहेका उनी कोभिड खोप किन नलगाउने भन्ने प्रश्नमा भन्छन्– ‘मलाई कोरोनासँग डर लाग्दैन । विश्वास पनि छैन । हामी यता गाउँमा बस्छौँ । स्वच्छ हावापानी अनि अर्गानिक खानाले मानिस स्वस्थ्य हुने हो । अहिले विश्वमा धेरै अस्वस्थ्यकर खाने कुरा सेवनले मान्छे बिरामी परेका छन् । कोरोना भाइरस सामान्य जस्तो लाग्छ । मलाई रुघाखोकी लागेमा घरकै आर्युेवेदिक औषधिले ठीक पारेको छ ।’
रामेछापका मगर र तनहुँका ओझा जस्तै देशका विभिन्न स्थानका नागरिकहरू अझै पनि खोपको पहुँचमा आएका देखिँदैनन् । खोप लगाउनुपर्छ भन्ने थाहा पाउँदा पनि नलगाउने केही छन् भने कतिपय खोप कहाँ दिइन्छ भन्ने सामान्य सूचनाबाट पनि विमुख छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य रहेको जनाएको थियो । लक्ष्यअनुसार सरकारले दैनिक ५ लाख खोप लगाउने र पुसभित्र ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने बताए पनि तथ्यांकले लक्ष्य नपुग्ने देखाइरहेको छ ।
पुस २२ गते १ लाख २० हजार ६५३ जनाले कोभिडको खोप लगाएका छन् । पुस २१ गते २ लाख ४६ हजार ३८५ जनामा एकदिनमा खोप लगाइएको छ । पुस २० गते ३ लाख १६ हजार ७७४ जना, १९ गते ३ लाख ४४ हजार ४४, १८ गते १ लाख ३३ हजार ८१२ जना, १७ गते शनिबार ५९ हजार ११२, १६ गते १ लाख ३९ हजार १५२, पुष १५ मा ५६ हजार ११२ जनाले खोप लगाएका छन् ।
अहिलेको तथ्यांक हेर्दा १ लाख देखि ३ लाखसम्मले मात्र दैनिक खोप लगाइरहेका छन् । जसमा प्रदेश २ सबैभन्दा पछि परेको देखिन्छ । तथ्यांक अनुसार सरकारले लिएको दैनिक ५ लाख कोभिड खोप लगाउने लक्ष्य पूरा गर्न कठिन देखिन्छ ।
कहाँ–कतिले खोप लगाए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महशाखाले उपलब्ध गराएको तथ्यांक हेर्दा पुस २२ गतेसम्म १८ वर्ष माथिका लक्षित जनसंख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको छ । ८३ प्रतिशतले एक मात्राको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप लगाउनेमा ७६ प्रतिशत रहेका छन् । साथै वागमती प्रदेशमा ७७ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेकोमा ७४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन् ।
त्यसैगरी प्रदेश १ मा ६७ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । प्रदेश २ मा पहिलो मात्राको खोप लगाउनेको संख्या ५० प्रतिशत छ भने ३९ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।लुम्बिनी प्रदेशमा ७२ प्रतिशतले पहिलो मात्रा र ५१ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
कर्णाली प्रदेशमा ५५ प्रतिशतले पहिलो मात्राको खोप लगाइसकेकोमा ४४ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा ६२ प्रतिशतले पहिलो मात्रा र ५४ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
लक्षित जनसंख्याको खोप कभरेजका बारेमा भन्दा ४८.५ प्रतिशतले पहिलो डोज प्राप्त गरिसकेका छन् भने दोस्रो डोज ३५.९ प्रतिशतले पाइसकेका छन् । १८ वर्ष माथिकामा पहिलो डोज ६७ प्रतिशतले पाएका छन् भने दोस्रो डोज ५५ प्रतिशतले पाएको तथ्यांकले देखाउँछ ।
१२ देखि १७ वर्षसम्मका ४३ प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् भने दोस्रो डोज ०.१ प्रतिशतले खोप लगाएका छन्।
हालसम्म नेपालमा ३ करोड ९२ लाख ३ हजार ९२७ मात्रा खोप भित्रिसकेको छ र २ करोड ५६ लाख ४२ हजार २९२ मात्रा खोप लगाइसकिएको छ ।
सबैभन्दा खोप कम लगाउने दर देखिएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले दर बढाउने प्रयास जारी नै रहेको बताए । उनले भने– ‘अझै पनि मानिसहरु खोप लगाउन उत्सुक देखिँदैनन् । विभिन्न माध्यमबाट यसबारे प्रचारप्रसार गरिरहेका नै छौँ तर पनि कम नै देखिन्छ । स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग छलफल पनि गरिराखेकै हो । जुन द्रुत गतिमा बढ्नुपर्थ्यो त्यो नभएकोमा नमज्जा त लागेको छ तर हामीले हिम्मत हारेका छैनौं । ’
www.ekantipur.com