RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२५ गते
४२३ पटक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद्ध संसद् सुचारु गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसीसीअघि बढाउनेसम्मका विषयमा प्याकेजमै वार्ता भएको छ । प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ताका लागि शनिबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले ओलीसँग संसद् बैठक सुचारु गर्नेतर्फ एमालेको सहयोगका लागि आग्रह गरेका थिए भने अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने विषय, सर्वोच्च अदालतको विवाद समाधान, आगामी निर्वाचनलगायतका विषयमा पनि एमालेको सहयोगका लागि प्रस्ताव गरेका थिए ।

‘प्रधानमन्त्रीले एमाले अध्यक्षसँग अवरुद्ध संसद् सुचारु गर्नेदेखि एमसीसी, अदालतको विवाद समाधान र आगामी निर्वाचनसम्मका विषयमा प्याकेजमा सहयोगका लागि प्रस्ताव गर्नुभएको हो, प्रधानमन्त्रीको प्रस्तावमा एमाले अध्यक्ष ओलीको जवाफ सकरात्मक छ,’ प्रधानमन्त्री शेरबहादुर देउवा निकट उच्च स्रोतले राजधानीसँग भन्यो । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद्को गतिरोध हटाउनेबार छलफल केन्द्रित भएको बताएको छ । छलफलमा के सहमति भयो भन्ने विषयमा भने आधिकारिक रूपमा खुलाइएको छैन । प्रधानमन्त्री देउवालाई पाँच दलीय गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले बिहीबार संसद्मा जारी अवरोध खुलाउन एमाले अध्यक्ष ओलीसँग छलफल गर्न सुझाएको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले समेत संसद् बैठक सुचारु गर्नेदेखि अदालतका विषयमा निर्णयमा पुग्नुपर्ने भन्दै ओलीसँग बालकोट पुगेरै छलफल गरेका थिए । पौडेलले एक चरण वार्ता गरेपछि देउवा–ओली निवास पुगेका हुन् ।
‘उच्चस्तरीय समितिमा हामीले प्रधानमन्त्रीलाई नै एमाले अध्यक्षसँग वार्ता गर्नुस् भन्यौं, त्यसपछि प्रधानमन्त्री देउवा ओलीसँग वार्ताका लागि जानु भएको हो, मुलुकलाई कहिलेसम्म बन्धक बनाएर राख्ने ?’ एक नेताले भने ।

राजधानी दैनिकबाट…………

प्रतिकृया दिनुहोस्