
जुम्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा लक्ष्यभन्दा बढी ६ करोड राजस्व संकलन भएको छ ।आन्तरिक राजस्व कार्यालय जुम्लाको पाँच महिनाको निर्धारित लक्ष्य भन्दा ६ करोड बढी राजस्व उठेको हो ।
पाँच महिनामा करिब ८ करोड ७४ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर मंसिर अन्तिमसम्मको रेर्कड अनुसार ६ करोडले बढेर झण्डै १४ करोड ४५ लाख ७१ हजार बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका सूचना अधिकारी सत्येन्द्र गुरुङले बताए । निर्धारित लक्ष्यभन्दा ६ करोड बढी राजस्व संकलन हुनु राम्रो पक्ष हो ।
उनका अनुसार पछिल्लो समयमा बढ्दै गएको करदाता शिक्षा तथा कर अनुसन्धानका कारण राजस्व संकलनमा वृद्धि हुँदै आएको छ । जसमा आयकर, घर बहाल कर, ब्याज कर, कुल आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क करलगायतका करिव २८ वटा शिर्षकबाट राजस्व संकलन भइरहेको छ ।
आन्तरिक कर परीक्षण तथा अनुसन्धान बढाउँदा र करको दायरा विस्तार सँंगै गाउँगाउँमा करशिक्षा दिएकै कारण चालु आवको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको सूचना अधिकारी गुरुङले जानकारी दिए ।
साथै जुम्लामा क्रमिक रुपमा करदाता पनि थपिँदै गएका छन् । गत आवमा ११ हजार २५ जना करदाता रहेको जुम्लामा हाल करिब १२ हजारले झण्डै २३ हजार ६ सय १४ जना करदाता संख्या रहेको छ ।
जसमा आयकरतर्फ १२ हजार ७ सय ५९ जना, मूल्य अभिवृद्धितर्फ १५ सय ७५ जना, अन्तःशुल्कतर्फ ५ सय ८० जना, व्यक्तिगत प्यानतर्फ ११ हजार १ सय ८१ जना र संस्थागत प्यानतर्फ १ सय ७ जना गरी करिब २३ हजार भन्दा बढी करदाता रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।
त्यस्तैै मालपोत कार्यालय जुम्लाले पनि चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै एक करोड राजस्व संकलन गरेको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकायाले बताए । उनका अनुसार जग्गा नामसारी, अंशबण्डा, राजीनामालगायत विभिन्न शिर्षकमा राजस्व संकलन भएको छ । जम्मा उठेको राजस्वमध्ये ६० प्रतिशत सम्बन्धी स्थानीय तह र ४० प्रतिशत प्रदेशमा पठाइने प्रमुख रोकायाको भनाइ छ ।
उता यातायात सेवा कार्यालय जुम्लाले पनि चालु आवको हालसम्म ५६ लाख ५४ हजार ६ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ । २ सय ९० सवारी दर्ता, लाइसेन्स, ब्लूबुक, सवारी नामसारी लगायतका शिर्षकबाट राजस्व संकलन हुने गरेको यातायात सेवा कार्यालयका सूचना अधकिारी लोकबहादुर महतले जानकारी दिए ।
www.karobardaily.com