RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२९ गते
३१५ पटक

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा कुल बजेटको ८.२६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै विकास निर्माणका काम हुने मन्त्रालयकै खर्च प्रगति निकै कम देखिएको हो । मन्त्रालयका अनुसार कुल विनियोजित १ खर्ब ५६ अर्ब २५ करोड १० लाख ४१ हजार बजेटमध्ये १२ अर्ब ९० करोड ३५ लाख ४९ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

सबैभन्दा कम बजेट खर्च गर्नेमा काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) रहेको छ । चालु आवका लागि ८ अर्ब ९२ करोड ७९ लाख विनियोजन भएकोमा ५ महिनामा १५ करोड ९ लाख १० हजार रुपैयाँ मात्र खर्च भएको छ ।

प्रतिशतमा यो कुल बजेटको १.६९ मात्रै हो । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको फास्ट ट्र्याकको अहिलेसम्मको भौतिक प्रगति १६.१० प्रतिशत छ । जसको निर्माणको समयसीमा आव २०८०/८१ सम्म मात्र छ । नेपाल पानीजहाज कार्यालयले मंसिर मसान्तसम्म ४.६५ प्रतिशत मात्रै खर्च गरेको छ ।

८ करोड ५९ लाख बजेट पाएकामा कार्यालयले ३९ लाख ९१ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । कम खर्च गर्ने अर्को आयोजनामा कान्ति राजपथ पनि पर्छ । साउन–मंसिरसम्म आयोजनाको खर्च १.२१ प्रतिशत मात्रै छ । चालु आवमा ३१ करोड १८ लाख छुट्याइएकामा आयोजनाले हालसम्म ३७ लाख ६६ हजार रुपैयाँ मात्र खर्च गरेको छ ।

कान्तिपुर दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्