माघे संक्रान्ति नजिकिएसँगै उपत्यकामा ठूलो परिमाणमा तरुल भित्रिन थालेको छ । माघे संक्रान्तिमा तरुलको उपभोग धेरै हुने भएकाले पर्याप्त भित्रिएको हो ।
पुस महिना सुरु भएदेखि नै उपत्यकाको सबैभन्दा ठूलो कालिमाटी तथा फलफूल बजारमा तरुल भित्रिन थालेको थियो । माघे संक्रान्ति नजिकिँदै गर्दा तरुलको आयात पनि बढ्दै गएको कालिमाटी तथा फलफूल बजार विकास समितिले जानकारी दिएको छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले बुधबारसम्म स्वदेशभित्रको र विदेशबाट गरी एक हजार ५ सय ७ क्विन्टल तरुल भित्रिएको जानकारी दिए । पछिल्लो एक सातदेखि तरुल आयात बढ्दै गएको छ । दुई दिन अझ बाँकी रहेकाले यसपालि एक हजार ८ सय क्विन्टल तरुल खपत हुने अनुमान गरिएको उनले जानकारी दिए ।
उनका अनुसार माघे संक्रान्तिमा १५ देखि २० करोड रुपैयाँको तरुल कारोबार हुनेछ । कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको छ । कालिमाटी बजारमा प्रतिकेजी ४० रुपैयाँदेखि २ सय रुपैयाँ मूल्यको तरुल पाइन्छ ।
समितिका अनुसार कालिमाटी बजारमा सगरखण्ड प्रतिकेजी ५० रुपैयाँ, सजिवन २ सय ८० र पिँडालु प्रतिकेजी ४० रुपैयाँ होलसेल मूल्य निर्धारण गरिएको छ । अन्य तरुलको मूल्य भने समितिले निर्धारण गरेको छैन । व्यवसायीका अनुसार घर तरुल प्रतिकेजी १ सय रुपैयाँ र वन तरुल प्रतिकेजी २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
अधिकांश वस्तुको आयात भइरहेको बेला पछिल्लो समय मुलुक तरुलजन्य कन्दमूलमा आत्मनिर्भर बन्दै गएको छ । करिब ११ प्रतिशत तरुल छिमेकी मुलुक भारतबाट आयात भए पनि बाँकी स्वदेशी उत्पादनले माग धान्ने गरेको छ ।
चालू वर्ष खपत बढ्ने अनुमान गरे पनि मूल्य खासै नबढेको व्यवसायीको भनाइ छ । चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायीको भनाइ छ । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढी छ ।
समितिका अनुसार आयात भएको तरुलमध्ये ५० प्रतिशतभन्दा बढी सर्लाही जिल्लाबाट आएको छ भने बाँकी नेपालका अन्य जिल्ला सुनसरी, धादिङ, नवलपरासी, मकवानपुर, चितवन, बारा, पर्सालगायतका जिल्लाबाट आउने गरेको समितिको तथ्यांक छ । ग्राहकले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन् । कालिमाटीसँगै अन्य बजारमा किसानले तरुल लगेर बिक्री गर्ने गर्छन् ।
www.karobardaily.com