RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१ गते
३५५ पटक

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् ।

माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ ।

कोभिड–१९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ-आफ्नो स्वास्थ्यको ख्याल गरी माघी मनाउन उनले सबैमा आह्वान पनि गरेकी छन् ।

आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्