RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/२ गते
८१६ पटक

आर्थिक वर्षको आधा अवधि सकिँदा राजस्वको लक्ष्य करिब भेट्टाएको छ भने पुँजीगत खर्च भने लक्ष्यभन्दा निकै कमजोर भएको छ । पुस मसान्तसम्म पाँच खर्ब ५९ अर्ब रुपैयाँ राजस्वको लक्ष्य रहेकोमा ९७ प्रतिशत अर्थात् पाँच खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । सरकारले चालू आवमा कुल ११ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । हालसम्म वार्षिक लक्ष्यको ३४.९३ प्रतिशत संकलन भएको हो ।

अर्कातिर, सरकारले पुस मसान्तसम्ममा ४० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो, तर १३.४४ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजस्व संकलनको लक्ष्य करिब पूरा गरेर अर्थ मन्त्रालय स्वयं बजेट कार्यान्वयनमा राम्रो देखिए पनि विकासे मन्त्रालयको भर पर्नुपर्ने पुँजीगत खर्चमा भने सरकार कमजोर देखिएको छ ।

पुस मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ दुई खर्ब ४१ अर्ब र भन्सारतर्फ दुई खर्ब ६२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । ३० पुससम्ममा आन्तरिकतर्फ दुई खर्ब २७ अर्ब र भन्सारतर्फ दुई खर्ब ७१ अर्ब राजस्व संकलन भएको सम्बन्धित विभागले जानकारी दिएका छन् । समग्र राजस्व संकलन लक्ष्यनजिक पुगे पनि आन्तरिकतर्फको राजस्व संकलन लक्ष्यभन्दा कमी देखिएको छ । भन्सार राजस्व भने लक्ष्यभन्दा ३ प्रतिशत बढी संकलन भएको छ ।

पुँजीगत खर्चका हिसाबले बजेट कार्यान्वयन सन्तोषजनक हुन सकेको देखिँदैन । यद्यपि, अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बजेट कार्यान्वयन निराशाजनक नहेको बताए । ‘राजस्व संकलन राम्रो भएको छ, खर्चचाहिँ अझै बढाउनुपर्ने देखिएको छ,’ उनले भने ।

नयाँ पत्रिका राष्टिय दैनिकबाट

प्रतिकृया दिनुहोस्