RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/४ गते
८९७ पटक

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले यो उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खरिदको प्रस्ताव गरेकोमा फाइजर कम्पनीले सम्झौताका लागि दुई महिनाको समय मागेको छ । ‘विश्वका विभिन्न मुलुकले ५ देखि ११ वर्षका बालबालिकालाई पनि खोप दिन थालेपछि नेपालले पनि दिने भन्ने निर्णय भएको छ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘फाइजर कम्पनीले लिखित प्रक्रिया पूरा गरी दुई महिनाभित्रमा निर्णय र सम्झौता गर्ने जानकारी गराइसकेको छ । उसले खोप दिने आसय व्यक्त गरेको छ ।’

५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ । १२ वर्षभन्दा माथिका सबैलाई भने फाइजरले ०.३ एमएलका दरले दुई डोज तोकेको छ । नेपालमा ११ वर्षमुनिका बालबालिकामा पनि संक्रमण बढ्न थालेको छ । सोमबार मात्रै देशभर ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएकामा ११ वर्षमुनिका ८७ जना छन् । आइतबार झन् बढी ९१ जना संक्रमित ११ वर्षमुनिका थिए ।

ओमिक्रोनका सामान्य लक्षण, तर झुक्याउन सक्ने विज्ञको चेतावनी
विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ । तर, तेस्रो लहर भित्र्याएको ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् ।

अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् । स्वाद वा गन्ध हराउने, ज्वरो आउनेजस्ता समस्या ५० प्रतिशतमा देखिएको बेलायतका वैज्ञानिकहरूको एक सर्वेक्षणले देखाएको छ । छाला चिलाउने, खाना नपच्ने, निद्रा नलाग्नेजस्ता लक्षण पनि देखिएका छन् ।

श्वास–प्रश्वासमा समस्या नहुँदा अधिकांशले यसलाई बेवास्ता गरिरहेको बताउँछन् वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘सामान्य लक्षण देखिनु सकारात्मक पक्ष हो, तर भाइरल लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ,’ उनी भन्छन् ।

लक्षण सामान्य हुँदा विश्वमै बिरामीको अस्पताल भर्नादर निकै कम छ । नेपालमा दैनिक परीक्षणको आधारमा संक्रमणदर ३८.६ प्रतिशत पुगेको छ । तर, हालसम्म सक्रिय संक्रमितको आधारमा अस्पताल भर्नादर चार प्रतिशतभन्दा कम छ । सोमबारसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३० हजार आठ सय ७७ पुग्दा उपचारका लागि एक हजार एक सय ७२ जना मात्रै अस्पतालमा उपचाररत छन् ।

सामान्य लक्षण मात्रै देखिएकाले अस्पताल भर्नादर नबढेको डा. नीरज बम बताउँछन् । उनका अनुसार श्वास–प्रश्वासमा समस्या र निमोनियाका लक्षण निकै कममा देखिएको छ । नेपालमा मात्र नभई उच्च संक्रमण रहेको भारतमा समेत बिरामीको अस्पताल भर्नादर न्यून रहेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

www.nayapatrikadaily.com

प्रतिकृया दिनुहोस्