RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/११ गते
४१७ पटक

कोरोना महामारीका कारण गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ ।

जुलाइ २०२० मा गरिएको सर्वेक्षणअनुसार बालबालिका भएका ६० प्रतिशतमा घरपरिवारले आम्दानी र जीविकोपार्जनका माध्यम गुमाएको पाइएकोमा त्यसपछि सुधार आएको देखिए पनि अझै धेरै परिवार गरिबीतिर धकेलिने जोखिम रहेको भन्दै २०२१ नोभेम्बरसम्म आइपुग्दा गरिबीतिर धकेलिने जोखिम भएका परिवारको संख्या ३० प्रतिशत रहेको सर्वेक्षणले देखाएको हो ।

यूनिसेफ नेपाल र शेयरकाष्ट इनिसियटिभले गत मे २०२० देखि हालसम्म विभिन्न चरणमा आठ वटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा करिब ६ हजार परिवारका अभिभावकसँग गरिएको अन्तर्वार्तामा जनजीविका, स्वास्थ्य तथा सरसफाइ, बालबालिकाको शिक्षामा पहुँच, बालबालिकाको पोषण, स्वास्थ्योपचार, स्तनपान र गर्भवती महिलाको अवस्था जस्ता विषय समेटिएका थिए ।

मे २०२० देखि नोभेम्बर २०२१ सम्म विभिन्न चरणमा सम्पन्न सर्वेक्षणले कोरोना महामारीका कारण १८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारमा चरणबद्ध रुपमा सुधार हँुदै आएको भन्दै सर्वेक्षणले तीनमा एक परिवार आर्थिक सहायताको खोजीमा रहेको जनाइएको छ ।

परिवारका प्रमुख आवश्यकताहरूमा आर्थिक सहायता, रोजगारी, खाद्यान्न तथा औषधी रहेको तथा बचत रकमको प्रयोग तथा सरसापटी गरी जीविकोपार्जन चलाएको हुनाले धेरै परिवार ऋणमा डुब्नुका साथै सम्पत्ति बेचबिखन गर्न बाध्य भएको पनि सर्वेक्षणको निष्कर्ष छ ।

१८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारमा कोरोना महामारीले उत्पन्न गरेको अवस्थाको नियमित अनुगमन गर्न युनिसेफ नेपालले शेयरकाष्ट इनिसियटिभ नेपालसँगको सहकार्यमा विभिन्न चरणमा टेलिफोन अन्तर्वार्ताका माध्यमबाट ‘चाइल्ड एन्ड फ्यामिली ट्रयाकर’ राष्ट्रिय सर्वेक्षण गरेको थियो ।

उक्त सर्वेक्षणले ६० प्रतिशत अविभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त हुनुका साथै ८० प्रतिशतले बालबालिका पढाइमा कमजोर भएको अनुभव गरेको पाएको छ ।

अपांगता भएका बालबालिकाले भर्चुअल सिकाइका क्रममा गृहकार्य गर्न चुनौती भोग्नुका साथै उनीहरू पछि पर्ने सम्भावना बढी हुन्छ भन्दै केवल ६२ प्रतिशत उत्तरदाताले तिनीहरूका बालबालिकाहरूको विद्यालयमा हात धुने सुविधा भएको र केवल २५ प्रतिशतले मात्रै विद्यालयका कक्षा कोठाहरूमा शारीरिक दूरी अभ्यास गरेको पाइएको छ ।

साथै, पैसाको अभाव र खाद्यान्न आपूर्तिमा अवरोधका कारण पाँचमध्ये एकभन्दा बढी घरपरिवारले खानाको लागि संघर्ष गरिरहने पनि सर्वेक्ष्णमा उल्लेख छ । सन् २०२१ नोभेम्बर महिनामा गरिएको सर्वेक्षणमा २१ प्रतिशत उत्तरदाताले भरपेट खानका लागि दैनिक संघर्ष गरिरहेको बताएका थिए भने सर्वेक्षणमा सहभागी ११ प्रतिशत परिवार र उनका बालबालिकाले पहिलाको तुलनामा कम खाना खाने गरेको पाइएको सर्वेक्षणकर्ताको निष्कर्ष छ ।

यस्तै, १५ प्रतिशत उत्तरदाताले समुदायमा महिला तथा बालबालिका माथि हिंसा भएको देखेको सर्वेक्षणमा भनेका छन् भने महिला तथा बालबालिकामाथि हिंसा भएको देख्नेको संख्या बढ्दै गएको बताएका छन् ।

‘महिला विरुद्धको हिंसाका सवालमा प्राप्त भएका रिपोर्ट गरिएका हिंसात्मक व्यवहारहरूका सवालमा घरेलु हिंसा, चिच्याउने र अपमान तथा धम्की दिने जस्ता कार्यहरू प्रमुख छन्,’ सर्वेक्षण्ले बताएको छ, ‘छोरीहरूले बालविवाह गर्न बाध्य भएको र शिक्षामा भेदभाव भोग्दै छन् भने छोराहरूले आर्थिक शोषणका साथै शारीरिक हिंसा र धेरै गाली खाने गरेका छन् ।’

महामारीअघि आफ्ना बालबालिकाको पढाइमा संलग्न हुने अभिभावकको संख्या ३० प्रतिशत भन्दा बढी थियो तर, सन् २०२० मार्च महिनामा गरिएको पहिलो लकडाउनपछिका एक महिनामा करिव आठ प्रतिशत बालबालिकाले आफ्नो परिवारलाई मद्दत गर्न काम गरिरहेका थिए ।

बालश्रमको व्याप्ति २ प्रतिशतमा घटेको विभिन्न तथ्याकंले देखाए पनि पछिल्लो तथ्यांकले बालश्रममा वृद्धि भएको देखाएको छ किनकि उत्तरदातामध्ये १० प्रतिशत उत्तरदाताले बालबालिकाले काम गरिरहेको बताएका छन् ।

यस्तै, ८४ प्रतिशत उत्तरदाताले कोभिड–१९ को महामारीबाट बच्न चाडपर्व र त्यसयताका समयमा मास्क नियमित लगाउने गरेको बताएका छन् । साथै सन् २०२१ नोभेम्बर महिनासम्म उत्तरदातामध्ये ७१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको सर्वेक्षणले देखाएको छ ।

कोरोनाको महामारी रोक्न विश्वव्यापी रूपमा सरकारहरूले बन्दाबन्दी तथा क्वारेन्टिनलाई प्रमुख उपायका रूपमा लिँदै आएका छन् । बन्दाबन्दीले रोजगारी, स्वास्थ्य तथा शिक्षाका अवसर गुम्नुका साथै सार्वजनिक सेवाको पहुँचमा कमी आएर सामाजिक तथा आर्थिक जीवनमा कठिनाइ भयो ।

‘कोरोना महामारीको प्रत्यक्ष प्रभावहरूमा बालबालिकाले शिक्षा तथा पौष्टिक आहारमा पहुँच गुमाए र हेरचाहकर्ताले रोजगारी गुमाउनुका साथै उनीहरुको खाद्य असुरक्षा हुन पुग्यो,’ सर्वेक्षण प्रतिवेदनले भनेको छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्