RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/११/२२ गते
५१५ पटक

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा नजिकै प्रदेश सरकारले ‘मुर्मा नमुना गाउँ’ कार्यान्वयनमा ल्याए पनि कार्यक्रम अलपत्र परेको छ । छायानाथरारा नगरपालिका–९ स्थित मुर्मा गाउँलाई नमुना बनाउन गत वर्षमा २ करोड बजेट विनियोजन गरिएको थियो । तर यो वर्ष बजेट नपर्दा कार्यक्रम अलपत्र परेको हो ।

कार्यक्रमअनुसार गत वर्ष मुर्माका ८० घरधुरीलाई जस्तापाता, १/१ बोरा सिमेन्ट, प्लास्टिक ट्यांकी, ट्वाइलेट प्यानलगायत सामग्री सहयोग गरिएको थियो । तर स्थानीयले काठ नपाउँदा घर र शौचालय निर्माणको काम अधुरै बनेको हो । नमुना घर बनाउन डिभिजन वन कार्यालयले स्याउली वन उपभोक्ता समितिमार्फत प्रतिपरिवार २८ क्युफिट काठ काट्न पुर्जा उपलब्ध गराएको थियो । तर सामुदायिक वनबाट स्थानीयले जथाभावी काठ काट्न थालेपछि रारा राष्ट्रिय निकुञ्जले प्रतिबन्ध लगाएको स्थानीय दानबहादुर रोकायाले बताए । ‘वन कार्यालयले दिएको २८ क्युफिट काठ झ्यालढोका बनाउन पनि पुगेन,’ उनले भने, ‘घर र चर्पी कसरी बनाउने ?’

त्यसमध्ये झन्डै ४० परिवारले जेनतेन गरी जस्तापाताले घर छाए पनि शौचालय निर्माणको काम गाउँभरि नै अलपत्र छ । रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्ने सुविधा दिने गरी ‘नमुना गाउँ’ कार्यक्रम अघि सारिएको थियो ।

निकुञ्जले काठ काट्न नदिएपछि नमुना घर बनाउन समस्या भएको स्थानीय अगुवा बिर्खबहादुर रोकायाले बताए । मुर्माका ८० परिवारलाई सामग्री दिने भनिए पनि अझै ५ परिवारले पाउन नसकेको उनको भनाइ छ । उनका अनुसार नमुना गाउँका लागि स्थानीय स्याउली वनमा झन्डै २ सय रूख कटान गरिएका थिए । ‘बढी रूख काट्न थालेको भन्दै निकुञ्जले रोक्का गर्‍यो,’ उनले भने, ‘अहिले त घर बनाउनुभन्दा पनि चुलो बाल्न दाउराको संकट व्यहोर्नुपरेको छ ।’

निकुञ्जको नियमअनुसार सुकेका र कुहिएका काठ पनि काट्न नमिल्ने निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । जैविक विविधताको संरक्षणका लागि रूख काट्न रोक लगाइएको उनको भनाइ छ ।

अँध्यारो मुर्मा

पर्यटकीय गन्तव्य रारा नजिकैको मुर्मामा विद्युत् सुविधा नहुँदा स्थानीयले वर्षौंदेखि अँध्यारोमा रात बिताउँदै आइरहेका छन् । गाउँका ८० परिवारमा विद्युत् सुविधा नपुग्दा अझै पनि सल्लाको झर्रो र टुकीको भरमा रात गुजार्नुपरेको स्थानीय कमल कार्कीले बताए । उनका अनुसार हुने खानेले सोलार जडान गरे पनि विपन्न परिवारमा परम्परागत ऊर्जाकै भर छ । ‘पारि गमगढी बजार सधैं झिलिमिली हुन्छ,’ उनले भने, ‘बिजुली नहुँदा हाम्रो गाउँ त सम्साझै सुनसान हुन्छ ।’ करिब ४ सय किलोवाट क्षमताको गमगाढ साना जलविद्युत् आयोजनाले गाउँमा बिजुली विस्तार गर्न खोजे पनि ठेकेदारको लापरबाहीले स्थानीयवासी अँध्यारोमा रात गुजार्न बाध्य भएका हुन् ।

गाउँमा विद्युत्को सुविधा नहुँदा मोबाइल चार्ज गर्न पनि गमगढी धाउनुपरेको उनले गुनासो गरे । ४ वर्षअघि गमगाढ साना जलविद्युत् आयोजनाले मुर्मागाउँमा विद्युत् सेवा विस्तार गर्न रारा निर्माण सेवालाई ठेक्का दिएको थियो । कम्पनीको लापरबाहीले काम अलपत्र परेको आयोजनाका प्रमुख दिनेश पौडेलले बताए । उनका अनुसार काम नगरेपछि उक्त कम्पनीको भुक्तानी रोकिएको छ । चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेटबाट पुनः ठेक्का खोल्ने तयारी गरिएको उनले जानकारी दिए ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्