RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/१४ गते
४८१ पटक

जुम्ला । १२ चैत अर्थात् जुम्लीका लागि विशेष दिन, विशेष यस अर्थमा कि यो दिन जुम्लामा काली मार्सी धानको बिउ राख्ने चलन छ । योे दिनलाई हिमाली जिल्ला जुम्लामा काली मार्सी धानको खेती प्रारम्भ गर्ने दिनका रूपमा लिइन्छ ।

जुम्ली किसानले शनिबार घरघरमा काली मार्सी धानको बिउ राखेका छन् । खस संस्कृतिसँग जोडिएको मार्सी धान धानमध्येकै विशेष मानिन्छ । काली मार्सी चामलको स्वाद, रोग र किरा प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण नेपालमा मात्रै होइन, विश्वमै यसको विशेष चर्चा हुन्छ ।

जुम्ली काली मार्सी धान समुन्द्री सतहबाट २ हजार ८ सय ५० मिटर उचाईमा खेती गरिन्छ । यो विश्वकै अग्लो स्थानमा फल्ने धान पनि हो । ‘आज जुम्ली किसानका लागि गौरवको दिन पनि हो । घरघरमा काली मार्सीको बिउ राखिएको छ । जुम्लाको हावापानीमा मात्र हुने यो दुर्लभ प्रजातिको धान हो,’ संस्कृतविद् रमानन्द आचार्यले शनिबार भने ।

बिउ राख्नुअघि धानलाई केलाएर तामाको भाँडोमा भिजाइन्छ । भिजाएको चार दिनपछि अर्थात् १६ चैतमा भिजाएको धान निकालिन्छ त्यसपछि पखालिन्छ । फेरुवामा सुकाएर ओभाएपछि पुनः पानी छर्कने र पुनः सुकाउने गरिन्छ । साँझपख चुलो नजिकै थुपारेर राडिपाखी र कोणधारी विरुवा सल्लोको झुप्राले ढाकिन्छ । यति गरिसकेपछि बिउ न्यानो हुन्छ । बिउ नउम्रेसम्म बिहान बेलुका चिसो पानी छर्किनुपर्छ । यसरी राखिएको बिउ २० गतेसम्म उम्रन्छ । अनि मात्रै ब्याडमा छरिन्छ । २० गतेलाई विसुवा पर्वका रूपमा मनाइन्छ । यो दिन बाबा चन्दननाथलाई सम्झेर पूजा गर्ने परम्परा रहेको स्थानीय सरस्वती सँुवारले बताइन् । करिब ७ सय वर्षअघि जुम्लाका इष्ट देवता गुरु चन्दननाथले भारतको काश्मिरबाट मार्सी धान भित्र्याएको विश्वास गरिन्छ ।

बाबा चन्दननाथले काश्मिरबाट धानको बिउ ल्याएर सुरुमा तातोपानीको लाछु जिउलोमा रोपेर चन्दननाथ बाबाका शिष्य लछालकृति पैकेलोले परीक्षण गरेका थिए । पछि जुम्लाभर मार्सी धान फैलिएको तातोपानीका स्थानीय धनबहादुर बुढा बताउँछन् । काली मार्सी चामलको स्वाद अन्य चामलका तुलनामा मिठो हुन्छ । राणा कालका प्रधानमन्त्री र राजालाई जुम्लाबाट हुलाकमार्फत दुई माना काली मार्सी चामल प्रत्येक दिन पठाइन्थ्यो । यसबाट पनि काली मार्सी चामल विगतदेखि नै लोकप्रिय थियो भन्ने पुष्टि हुन्छ ।

जुम्लाको आठै स्थानीय तहमा मार्सी धानको खेती हुन्छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार कुल धान खेती हुने क्षेत्रफल २ हजार ९ सय ५० हेक्टरमध्ये १ हजार ३ सय हेक्टरमा मार्सी धानको उत्पादन हुन्छ । विश्वको सर्वोच्च स्थानमा धान खेती हुने जुम्लाको छुमचौर ज्युलोमा पनि मार्सी धानको खेती गरिन्छ । काली मार्सी धानलाई चिसो मौसमका साथै धेरै पानी चाहिन्छ । जुम्ला सदरमुकाम खलंगामा मार्सी चामल प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुनेगरेको छ ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्