RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/१४ गते
१२१६ पटक

नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो ।

साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ ।

कोभिड–१९ पछि नेपाल–भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो । भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ ।

भारत सरकारले ३७ देशसँग एयर बबल सम्झौता गरेर उडान गर्दै आएको थियो । नेपालले पनि सो सम्झौता अनुसार नेपाल वायुसेवा निगम र भारतको तर्फबाट एयर इन्डियाले उडान भर्दै आएका थिए ।

भारत सरकारले कोभिड–१९ पछि सन् २०२० मार्च २३ बाट लकडाउन गर्दै सबै अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा प्रतिबन्ध लगाएको थियो । एयर बबल सम्झौता अनुसार नेपाल र भारतका नागरिकले मात्र यात्रा अनुमति पाउने गरेका थिए ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्