RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/२३ गते
८९७ पटक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो ।

‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबाट निर्देशन नुहँदासम्म प्रमुख उपप्रमुख नतोक्न भनिएको हो,’ कांग्रेस स्रोतले भन्यो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने विधानअनुसार उम्मेदवार चयन गर्न आवश्यक पर्ने सबै काम समयसीमाभित्रै गर्न भनिएको तर निर्णय भने तत्काल ‘होल्ड’ गर्न निर्देशन गरिएको जानकारी दिए ।

‘विधानको व्यवस्थाअनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम सबै सक्न सर्कुलर गरिएको छ तर निर्णय चाहीँ केन्द्रको निर्देशन नहुँदासम्म होल्ड गर्न भनिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले राजधानीसँग भने ।

पाँच दलीय सत्ता गठबन्धनले मंगलबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव तयारी समिति बनाएको थियो । सो समितिलाई देशभरका स्थानीय तहमा दलको अवस्थाअनुसार तालमेलको मोडालिटी बनाउने अधिकार छ ।

कांग्रेसले पार्टीगत रूपमा निर्वाचनको विषयमा काम गर्नेगरी उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेको छ । खड्का नेतृत्वको समितिले देशभर उम्मेदवार तय गर्ने र त्यसका लागि समन्वय गर्ने काम गर्छ ।

कांग्रेसले वडा कार्यसमितिलाई २१ चैत र पालिका समितिलाई २३ चैतसम्म उम्मेदवार टुंग्याएर केन्द्रमा नामावली बुझाउन निर्देशन दिइएको थियो ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिलाई २५ चैत, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिलाई २७ चैत, जिल्ला कार्यसमितिलाई २९ चैत र प्रदेश कार्यसमितिलाई १ वैशाखसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो ।

कांग्रेस विधानमा वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्ने व्यवस्था छ । यस्तै, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्ने वैधानिक व्यवस्था छ ।

यसैगरी, नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्ने विधानमा उल्लेख छ ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्