RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/३० गते
५२९ पटक

विराटनगर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साल षडयन्त्रको वर्षका रूपमा वितेको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बुधबार आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०७८ सालमा मुलुकमा धेरै षडयन्त्रहरु भएको बताए ।

‘२०७८ संविधान विरोधी र अस्थिरताका पक्षधर शक्तिहरुले असंवैधानिक ढंगले विकासको गतिलाई रोकेर देशलाई पछाडि फर्काउन खोजेको वर्ष हो,’उनले भने, ‘यो वर्ष अपवित्र गठबन्धनमार्फत भ्रष्टाचारी, देशद्रोही, लोकतन्त्र एवं संविधान विरोधी शक्तिहरुले टाउको उठाउने अवस्था बन्यो ।’

ओलीले एमालेलाई सक्छौं भनेर विरोधीले बनाएको सारा षडयन्त्रलाई नेपाली जनताले पराजित गरिदिएको पनि बताए । ‘आज २०७८ सालको अन्तिम दिन हो । यो वर्षलाई बिदा गरेर हामी नयाँ वर्ष २०७९ साललाई स्वागत गर्दै छौं, ‘उनले भने, ‘सबैमा नयाँ वर्षको धेरैधेरै शुभकामना । २०७९ लाई एमालेको विजयको वर्ष बनाउन सबैमा आग्रह गर्न चाहन्छु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परमादेशबाट बनेको अपवित्र गठबन्धन निर्वाचन नगराएर मुलुकका स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागिरहेको आरोप लगाएका छन । ‘मुलुकमा चुनाव नगर्नका लागि अनेक षडयन्त्र र कोसिस भइरहेका छन् । यसलाई अदालत, निर्वाचन आयोग र नेपाली जनताले मान्नु हुँदैन,’ उनले भने, ‘षडयन्त्रकारी, संविधान र लोकतन्त्र विरोधीलाई ध्वस्त पार्नुपर्छ । सिंगो देश लागेर त्यसलाई परास्त गर्नुपर्छ ।’

सरकारको निर्वाचन नगराउने षडयन्त्रलाई कुनै पनि हालतमा एमालेले स्वीकार नगर्ने ओलीले बताए । ‘निर्वाचन नगर्ने कुरा हामी मान्दैनौं। स्वीकार गर्दैनौं उनले भने, ‘यस्ता षडयन्त्रलाई पराजित गरेर भए पनि मुलुकमा चुनाव गराउनुपर्छ। मुलुकमा विकास गरेर समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान सफल बनाउनुपर्छ ।’

गठबन्धन सरकारले अर्थतन्त्रलाई भयावह अवस्थामा पुर्‍याएर देशलाई कंगाल बनाउने काम गरिरहेको उनको आरोप छ । ‘अर्थतन्त्रलाई धरासयी बनाएर देशलाई झन् अस्थिरतातर्फ लगिँदै छ । देश टाट पल्टिने अवस्थातर्फ जाँदै छ,’ ओलीले भने, ‘हाम्रै अगाडि श्रीलंका उदाहरण छ । अहिले श्रीलंका निक्कै अप्ठेरो अवस्थामा छ ।’

अर्थतन्त्र कमजोर बनाएर देशलाई अप्ठेरोमा पार्ने र अझ धेरै अस्थिरतातर्फ लैजान खोज्ने शक्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने धारणा ओलीको छ ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्