RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/१८ गते
५३६ पटक

काठमाडाैँ- जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका-८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ।

वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्षअघि गुराँस गाउँपालिका-८ ले परिचयपत्र वितरण गरेको थियो। बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलह पुगेका हुन्।

चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति चार हजार रुपैयाँका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ। अधिकांश दैलेखमा बस्दै आएका छन्। उनीहररुलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ।

रासस

प्रतिकृया दिनुहोस्