RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/२० गते
४८६ पटक

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । अर्थ मन्त्रालयले गत मंगलबार पेट्रोलियम पदार्थको सीमावती मूल्य अन्तरसमेतको आधारमा करका दररेट समायोजन गर्न र संघीय बजेटमार्फत् पूर्वाधार करबराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गर्न भनेपछि निगमले मूल्य घटाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अर्थ मन्त्रालयलाई पत्र पठाएपछि निगमको बिहीबार बसेको वैठकले शुक्रबार बिहानबाट लागू हुने गरी मूल्य घटाएको हो । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरूप निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँमा झरेको छ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण निगम घाटामा भएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार करसमेत जोडेर लिन सुरु भएको थियो ।

त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटे पनि खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन । भारतबाट आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा भने पेट्रोल र मट्टीतेलको मूल्य बढेर आउँदा डिजेलको भने घटेर आएको थियो ।

निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्म मूल्य निगमले तोकेबमोजिम हुने गर्छ भने सोभन्दा पर ढुवानी भाडा जोडेर मूल्य कायम गरिँदै आएको छ । भारतीय आयल निगमले बुधबार पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलको खरिदर २ सय १ रुपैयाँ ४१ पैसा रहेको छ । डिजेलको खरिद लागत १ सय ८१ रुपैयाँ ३३ पैसा रहेको छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर ३१ रुपैयाँ ४१ पैसा र डिजेलमा २८ रुपैयाँ ३३ पैसा घाटा रहेको छ । मट्टीतेलमा भने निगमलाइ ५ रुपैयाँ ४४ पैसा नाफा रहेको छ । मट्टीतेलको खरिद मूल्य १ सय ४७ रुपैयाँ रहेको छ भने बिक्री मूल्य १ सय ६६ रहेको छ ।

निगमले आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १७ रुपैयाँ ४७ पैसा र बाह्य हवाइ इन्धनमा ६४ रुपैयाँ ६७ पैसा नाफा कमाउँदै आएको छ । एलपी ग्याँसमा भने प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

निगमले प्रतिसिलिन्डर २ हजार ५ सय ५१ मा खरिद गर्ने गर्छ भने १ हजार ८ सय रुपैयाँमा बिक्री गर्ने गर्छ । निगमको बिहीबार बसेको वैठकले एलपी ग्यासमा हाल भइरहेको घाटा न्यूनीकरण गर्न निगम सञ्चालक समितिको बैठकले घरायसी र व्यावसायिक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्न एक उपसमिति गठन गरेको छ ।

इन्धनको नयाँ मूल्यअनुसार निगमलाई १५ दिनमा कुल ३ अर्ब ८९ करोड ५२ लाख घाटा रहेको उल्लेख गरिएको छ । यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा निगमलाई करिब ४७ अर्ब नोक्सानी भइसकेको र असार मसान्तसम्ममा ६० अर्ब घाटा हुने प्रक्षेपण गरिएको छ । इन्धनको व्यापार गर्ने निगमले निरन्तर घाटामा रहेपछि आमउपभोक्तलाई स्वदेशी ऊर्जा खपत बढाउन आग्रहसमेत गरेको छ ।

निगमले जुन महिनाका लागि पहिलो किस्ताबापत १६ अर्ब र बाँकी बक्यौताबापतको अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब रुपैयाँ आगामी बुधबारसम्ममा भुक्तानी गर्नुपर्ने दबाब रहेको उल्लेख गरेको छ । यस अवधिमा इन्धन बिक्रीबापत संकलन हुने रकमबाट करिब ९.५ अर्ब मात्र भुक्तानी दिन सक्ने स्थिति देखिएको पनि निगमले जनाएको छ ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्